काठमाण्डौ । पछिल्लो समय संसारभर आर्थिक मन्दीको त्रास छाएको छ। कोभिड–१९ ले थला परेको अर्थतन्त्र उठ्न नपाउँदै रुस र युक्रेनको युद्धले संसारभर आर्थिक मन्दी त्रास देखिन थालेको हो। 

खासगरी रुसबाट आपूर्ति हुने इन्धन तथा युक्रेनबाट आपूर्ति हुने गेडागुडीलगायतको खाद्यन्नमा प्रभावित भएपछि सप्लाई चेन बिग्रेको थियो। पछिल्लोपटक बेलायतसँगै युरोपेली देशहरुमा इन्धनको बढ्दो मूल्यका कारण महँगी बढेको छ। 

खासगरी क्रिप्टोमा लगानी गरेका केही अमेरिकी बैंकहरु पछिल्लोपटक संकटमा परेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्। 

बढ्दो ब्याज तथा आर्थिक संकटबीच अमेरिकी बंैक सिलिकन भ्याली टाट पल्टेपछि त्यसको मनोवैज्ञानिक प्रभाव लगानीकर्तामा परेको छ। विश्व सेयर बजारका लगानीकर्ताहरु आत्तिएका छन्। 

गत शुक्रबार सिलिकन भ्याली बैंकलाई अमेरिकी नियामकले बन्द गर्ने निर्देशन दिएका थिए। उनीहरुले उक्त बैंक आफ्नो नियन्त्रणमा लिएका छन्।

योसँगै विश्व सेयर बजारमा थप दबाब सिर्जना हुने अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्। 

त्यसो उक्त बैंकले टाट पल्टेको खबरले गत अमेरिकाकै ठूलो इन्डेक्स भनेर चिनिने डाउ जोन ३४५ अंकको गिरावट आएर ३२९०९ मा बन्द भएको छ। यूएस ३० तथा यूएस ५०० मा पनि १ प्रतिशतभन्दा बढीको गिरावट आएको छ। नास्डक तथा एसएन्डपी ५०० मा पनि करिब २ प्रतिशतले गिरावट आएको छ। बेलायतको फुट्सी १०० पनि किरब २ प्रतिशतले नै गिरावट आएको छ।

जर्मनको ड्याक्स पनि करिब २ प्रतिशतले गिरावट आएको छ। योसँगै छिमेकी देश भारतको सबैभन्दा ठूलो इन्डेक्स सेन्सेक्स पनि करिब ७०० अंकले घटेर ६०००० तल बन्द भएको छ। तर, क्रिप्टो करेन्सीहरुमा भने सामान्य अंकले बढोत्तरी आएको छ।