काठमाण्डौ । बैंकिङ संकट अब अमेरिकामा मात्र सीमित नरहने भएको छ। युरोपमा पनि बैंकिङ संकट गहिरिँदै गएको छ। 

युरोपको सबैभन्दा ठूलो बैंक क्रेडिट सुइसको अवस्था नाजुक बनेको छ। यसको सेयर एकैदिनमा २५ प्रतिशतले घटेको छ। यतिमात्र होइन तीन महिनादेखि लगातारको गिरावटले यो बैंकको सेयरभाउ एक तिहाइले घटेको छ।

क्रेडिट सुइस बैंकले केही समयदेखि निरन्तर चुनौतीहरुको सामना गरिरहेको छ। लगातार ओरालो लागेको सेयरमूल्यले बैंकका सेयरधनीले पनि साथ छाड्न थालेका छन्। स्विट्जरल्यान्डस्थित क्रेडिट सुइस बैंकको ९.९ प्रतिशत सेयर रहेको सबैभन्दा ठूलो सेयरधनी साउदी नेसनल बैंक (एसएनबी)ले थप लगानी गर्न अस्वीकार गरेको छ।

ब्लुमबर्गको रिपोर्टका अनुसार क्रेडिट सुइसमा लगानी गर्नेबारे सोधिएको प्रश्नको जबाफमा साउदी नेसनल बैंकका अध्यक्ष अम्मार–अल खुदैरीले भने, ‘हामी क्रेडिट सुइसमा कुनै पनि प्रकारको लगानी गर्दैनौँ।’

क्रेडिट सुइस बैंकलाई युरोपमा मात्रै नभई विश्वका अधिकांश बैंकमा पनि गणना गरिन्छ। बैंकको स्टक अघिल्लो कारोबार दिनमा २४.२४ प्रतिशतले घटेको थियो। यो स्टक पछिल्लो ५ दिनमा ३५ प्रतिशतभन्दा बढीले घटेको छ। 

अमेरिकाको बैंकिङ क्षेत्रमा आएको सुनामीले अहिले युरोपेली बैंकहरुलाई आफ्नो घेरामा लिएको छ। जसका कारण विश्वभरका बैंकहरुमा यसको असर देखिएको छ। 

अमेरिकामा पहिले सिलिकन भ्याली र त्यसपछि सिग्नेचर बैंक तुरुन्तै ताला लगाइयो। जब कि अन्य करिब आधा दर्जन अमेरिकी बैंकहरु बन्द हुने जोखिम बढेको छ। 

ग्लोबल रेटिङ एजेन्सी मुडीजले पनि फर्स्ट रिपब्लिक बैंकलगायत धेरै वित्तीय संस्थालाई समीक्षाको दायरामा राखेको छ।

क्रेडिट सुइस बैंकले आफूसँग पर्याप्त निक्षेप रहेको र बैंक डुब्ने खतरा नरहेको दाबी गरेको छ। तर, रिच ड्याड–पुअर ड्याड र वाल स्ट्रिट विश्लेषकका लेखक रोबर्ट कियोसाकील भने क्रेडिट सुइस डुब्ने आशंका व्यक्त गरेका छन्। 

रिपोर्टका अनुसार स्विस नेसनल बैंकले क्रेडिट सुइसलाई ५० अर्ब डलर ऋण दिएको छ। यो छोटो अवधिको ऋण हो। क्रेडिट सुइसका तर्फबाट ५४ अर्ब डलरसम्म ऋण लिएर तरलता सुदृढ गर्ने प्रयास भइरहेको बताइएको छ। –एजेन्सी