काठमाण्डौ । कोरोना संक्रमणबाट अमेरिकामा पहिलोपटक एकैदिन १ लाख बढी संक्रमित भएका छन्।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार बुधबार अमेरिकामा एकैदिन १ लाख २ हजार ८३१ जनामा संक्रमण पुष्टि भएको हो। एक दिनमा देखिएको संक्रमितको यो संख्या हालसम्मकै उच्च रहेको विश्वविद्यालयले जनाएको छ।

अमेरिकामा बुधबारमात्रै कोरोनाबाट १ हजार ९७ जनाको ज्यान गएको छ। 

अमेरिकामा पछिल्लो १ साताको अवधिमा ६ लाख संक्रमणका नयाँ मामिला देखिएका छन्। विज्ञहरुले अब जाडोयाम सुरु भएकोले कोरोना संक्रमणको मामिला अझै बढ्न सक्ने चेतावनी दिएका छन्। 

हालसम्म अमेरिकामा झन्डै ९५ लाख मानिसमा कोरोनाबाट संक्रमित भएका छन्। तीमध्ये २ लाख ३३ हजारभन्दा बढीको ज्यान गइसकेको छ। – एजेन्सी