काठमाण्डौ । अमेरिकामा आगामी डिसेम्बर महिनाको दोस्रो साताबाटै कोरोनाविरुद्धको भ्याक्सिन प्रयोगमा ल्याउने तयारी सुरु गरिएको छ।

कोरोना महामारीको विस्तारले तीव्रता लिइरहेकै बेला यस्तो सुखद् खबर सार्वजनिक भएसँगै अमेरिकावासीमा खुसियाली छाएको छ। अमेरिका टुडेमा प्रकाशित समाचारअनुसार अमेरिकामा कोरोना खोप कार्यक्रमका प्रमुख डा मोन्सेफ स्लाओईले आउँदो डिसेम्बर दोस्रो साताबाट नै भ्याक्सिन दिने गरी तयारी भइरहेको बताएका हुन्। उनका अनुसार भ्याक्सिनले स्वीकृति पाएको २४ घन्टाभित्रै प्रभावित क्षेत्रमा पुर्याइनेछ। 

अमेरिकी औषधि उत्पादक कम्पनी फाइजरले जर्मन कम्पनी बायोएनटेकसँग मिलेर विकास गरेको यो भ्याक्सिन ९५ प्रतिशत प्रभावकारी देखिएको दाबी गरिएको थियो। अमेरिकामा आपतकालीन रुपमा यो भ्याक्सिन प्रयोगका लागि स्वीकृति लिन गत शुक्रबार नै फुड एन्ड ड्रग एड्मिनिस्ट्रेससन (एफडीए) निवेदन परिसकेको छ। 

अब एफडीएको भ्याक्सिन एड्भाइजरी समितिको बैठक आउँदो डिसेम्बर १० मा बस्दैछ। सम्भवतः सोही बैठकमा फाइजरको भ्याक्सिन प्रयोगले अनुमति पाउने सक्ने बताइएको छ। 

एफडीएबाट स्वीकृति पाएको भोलिपल्टैबाट यो भ्याक्सिन प्रभावित क्षेत्रमा पुर्याइने बताइएको छ। 

संक्रमितलाई यो भ्याक्सिन दुई डोज दिइनुपर्नेछ । प्रत्येक राज्यको जनसंख्याको हिसाबले भ्याक्सिन विस्तार गरिने फाइजरले जनाएको छ। 

यो वर्षको अन्त्यसम्ममा फाइजरले भ्याक्सिनको पाँच करोड डोज उत्पादन गर्ने अपेक्षा राखेको छ।

त्यसो त अमेरिकी कम्पनी मोदेर्नाले विकास गरेको भ्याक्सिन पनि ९५ प्रतिशत प्रभावकारी देखिएको छ। मोदेर्नाले पनि आगामी साता यो भ्याक्सिन प्रयोगमा ल्याउन एफडीएमा स्वीकृति लिन आवेदन दिने तयारी गरिरहेको छ। 

पछिल्लो तथ्यांकअनुसार अमेरिकामा संक्रमितको संख्या १ करोड २६ लाखको हाराहारीमा पुगेको छ। तीमध्ये २ लाख ६२ हजार ६९६ जनाको ज्यान गइसकेको छ भने ७४ लाख ५२ हजार ५०० बढी संक्रमणमुक्त भएका छन्। – एजेन्सी