काठमाण्डौ । अमेरिकामा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५ लाख नाघेको छ। 

कोरोनाबाट सोमबारसम्म ५ लाख ७१ जनाको मृत्यु भएको तथ्यांक सार्वजनिक भएको हो। यो विश्वभर कोरोनाबाट ज्यान गुमाउनेको संख्याको १९ प्रतिशतबराबर हुन आउँछ। कोरोना संक्रमणबाट हालसम्म विश्वभर २४ लाख ८४ हजार मानिसको मृत्यु भइसकेको छ। 

यसैबीच सोमबार ह्वाइटहाउसमा सम्बोधन गर्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले पहिलो र दोस्रो विश्वयुद्ध र भियतनामसँगको युद्धमा मृत्यु भएका सबै अमेरिकीभन्दा कोरोनाले ज्यान गुमाउने धेरै हुनु हृदयविदारक भएको बताएका छन्। ‘लामो समयदेखि हामी यो महामारीसँग लडिरहेका छौँ, यो समयमा हामी विक्षिप्त भएर केही गर्नै सक्दैनौँ भनेर बस्नुहुन्न, यसविरुद्धको लडाइँ हामी सबै एक भएर लड्नुपर्छ’, उनले भने। 

राष्ट्रपति बाइडेनको सम्बोधनपछि ह्वाइटहाउटमा मृतकको सम्झनामा मौन धारण गरिएको थियो। बाइडेनले अमेरिकाभरि मौन धारण गर्न आग्रह पनि गरेका थिए।

यसैगरी बाइडेनले कोरोनाबाट ज्यान गुमाएकाहरूको सम्झनामा संघीय सरकारमातहतका सबै कार्यालय र सैनिक बेसमा ५ दिन राष्ट्रिय झन्डा आधा झुकाउन निर्देशन पनि दिएका छन्। – एजेन्सी