काठमाण्डौ । गत जुन महिनामा अमेरिकाको रोजगारमा व्यापक सुधार देखिएको छ। 

जुन महिनामा मात्रै अमेरिकामा ८ लाख ५० हजार जनाले रोजगार पाएका छन्। यो संख्या अर्थशास्त्रीहरुले पूर्वानुमान गरेभन्दा एकदमै धेरै हो। यसले अमेरिकाको रोजगार बजारले गति लिएको संकेत गरेको बताइएको छ। 

जुन महिनामा थपिएको नयाँ रोजगार सन् २०२० अगस्ट पछिकै सबैभन्दा धेरै हो। सन् २०२० अगस्ट महिनामा अमेरिकी श्रम बजारमा १० लाख ६० हजार नयाँ रोजगार थपिएको थियो। 

अहिले अमेरिकाको पर्यटन तथा मनोरञ्जन क्षेत्रमा रोजगार वृद्धिदर बलियो गरी वृद्धि भएको देखिएको छ। पर्यटन तथा मनोरञ्जन क्षेत्र तीनै क्षेत्र हुन्, जुन कोरोना महामारीको प्रभावबाट सबैभन्दा धेरै प्रभावित भएका थिए। यी क्षेत्रहरुमा जुन महिना ३ लाख ४३ हजार नयाा रोजगार थपिएको छ। योमध्ये आधिभन्दा बढी रेस्टुरेटाँ तथा बारहरुमा थपिएका छन्। 

यस्तै शिक्षा क्षेत्रमा रोजगार पाउने संख्यामा समेत बढोत्तरी आएको छ। जुन महिनामा अमेरिकाको स्थानीय सरकारहरुले १ लाख ५५ हजार र केन्द्र सरकारले ७५ हजार निजी शैक्षिक क्षेत्रले ३९ हजारलाई हायर गरेको तथ्यांकले देखाएको छ। यद्यपि बलियो श्रम बजारका रुपमा अमेरिका कोरोना महामारी पूर्वको सामान्य अवस्थामा भने अझै पुग्न सकेको छैन। 

रिपार्टका अनुसार करिब ६० लाख २० हजार श्रमिकहरुले कोरोना महामारीका कारण आफ्नो रोजगारदाता प्रभावित बनेका कारण आफूहरुले काम नगर्ने गरेको वा कम काम गर्ने गरेको बताएका छन्। यसबीचमा श्रमशक्ति सहभागिता दर भने ६१.६ प्रतिशतका साथ अपरिवर्तित नै रहेको छ। नयाँ पदमा काम गर्नका लागि स्वेच्छिक रुपमा काम छोड्नेको संख्या १ लाख ६४ हजारबाट जुन महिनामा ९ लाख ४२ हजार पुगेको छ। यो संख्या सन् २०१६ नोभेम्बर महिनापछिकै धेरै हो। 

अमेरिकामा कोरोना महामारीले सबै वर्गका श्रमिकहरु बेरोजगार हुनु परे पनि सबैभन्दा बढी प्रभावित भने न्यून आय भएका कामदार तथा अश्वेत कामदारहरु भएका छन्। जुन महिनामा बेरोजगार हुने एशियाली कामदारहरुको संख्या ५.५ प्रतिशतबाट वृद्धि भएर ५.८ प्रतिशत पुगको छ। 

यस्तै हिस्प्यानिक तथा अश्वेत कामदारहरुको बेरोजगार दर वृद्धि भएर क्रमशः ७.४ प्रतिशत र ९.२ प्रतिशत पुगेको छ। गोरा जातिको बेरोजगार दर पनि ५.१ प्रतिशतबाट वृद्धि भएर ५.२ प्रतिशत पुगेको छ।