काठमाण्डौ । अमेरिकामा फेरि बैंकिङ संकट देखिएको छ। 

अमेरिकी नियामकहरुले देशको सबैभन्दा ठूलो बैंक सिलिकन भ्याली बैंक बन्द गर्न आदेश दिएका छन्। यसका साथै नियामकहरुले फेडरल डिपोजिट इन्स्योरेन्स कर्पोरेसन (एफडीआर्यसी) लाई बैंकको रिसिभर नियुक्त गरेका छन्। 

बैंकहरुमा जम्मा भएका ग्राहकहरुको रकमको सुरक्षा गर्ने जिम्मेवारी एफडीआईसी लाई सुम्पिएको छ। यसअघि सेयर बजारमा यो बैंकको सेयर ६६ प्रतिशतले घटेपछि कारोबारमा रोक लगाइएको थियो।

लगभग साढे २ वर्षमा यो दोस्रोपटक हो जब एफडीआईसी इन्स्योर्ड बैंक बन्द भएको छ। यसअघि सन् २०२० को अक्टोबरमा अल्मेना स्टेट बैंकमा पनि ताला लगाइएको थियो। 

रिपोर्ट अनुसार सिलिकन भ्याली बैंकको प्रधान कार्यालय र सबै शाखाहरु मार्च १३ मा पुनः खुल्नेछ र सबै बीमित निक्षेपकर्ताहरुले सोमबार बिहानसम्म उनीहरुको निक्षेपमा पहुँच राख्न सक्नेछन्। 

गत डिसेम्बर ३१ सिलिकन भ्याली बैंकको कुल सम्पत्ति लगभग २०९ अर्ब डलर थियो र कुल निक्षेप लगभग १७५ अर्ब डलर थियो।

रोयटर्सका अनुसार पछिल्लो दुई दिनमा अमेरिकी बैंकहरुको सेयरको बजार मूल्यमा १०० अर्ब डलरभन्दा बढी घाटा भएको छ। युरोपेली बैंकहरुको मूल्यमा करिब ५० अर्ब डलर घाटा भएको छ।

सिलिकन भ्याली बैंक अमेरिकाको १६औँ ठूलो बैंक हो। यो नयाँ युगको प्राविधिक कम्पनीहरु र उद्यम पुँजी लगानी कम्पनीहरुलाई आर्थिक सहयोग प्रदान गर्ने अमेरिकाको मुख्य बैंक हो। तर, पछिल्लो १८ महिनामा अमेरिकी फेडरल रिजर्भले ब्याजदर बढाएको छ। जसका कारण यस्ता कम्पनीहरुले ठूलो घाटा व्यहोर्नुपरेको छ।

यसबाहेक उच्च जोखिमका कारण प्राविधिक कम्पनीहरुमा लगानीकर्ताको चासो घटेको छ। उच्च ब्याजदरका कारण धेरै स्टार्टअपको आईपीओको बजार बन्द भएको छ। जसका कारण कोषको संकट बढेको हो। त्यसपछि सिलिकन भ्याली बैंकका केही ग्राहकले आफ्नो तरलता आवश्यकता पूरा गर्न पैसा निकाल्न थाले।

मार्च १३ देखि अनलाइन बैंकिङ लगायतका अन्य सेवाहरु सुचारु हुनेछन्। सिलिकन भ्याली बैंकबाट आधिकारिक चेकहरु क्लियर गर्न जारी रहनेछ। 
अमेरिकामा बैंकिङ क्षेत्रको सबैभन्दा ठूलो संकट सन् २००८ मा आएको थियो। उक्त वर्ष बैंकिङ फर्म लेहमन ब्रदर्सले आफूलाई टाट पल्टेको घोषणा गरेको थियो। त्यसपछि अमेरिकासहित विश्वभर आर्थिक मन्दी आयो र अर्थतन्त्रको ढाड भाँचिएको थियो। –एजेन्सी