काठमाण्डौ । अमेरिकमा बैंकिङ संकट रोकिने नाम लिइरहेको छैन। पहिले सिलिकन भ्याली बैंक, त्यसपछि सिग्नेचर बैंक र अहिले फरस्टट रिपब्लिक बैंकमा ताला लगाइएको छ। 

अमेरिका एकपछि अर्को ठूला बैंकहरु डुब्न थालेका छन्। यही संकटबीच फेडरल रिजर्भले निरन्तर ब्याजदर बढाइरहेको छ। 

फेरि अमेरिकालाई अर्को झट्न लाग्ने देखिएको छ। त्यहाँको प्यासिफिक वेस्टर्न बैंकको अवस्था पनि नाजुक बनेको छ। यो बैंकको सेयरभाउमा पनि भारी गिरावट आएको छ।

रोयटर्सको रिपोर्ट अनुसार लस एन्जलसस्थित प्यासिफिक वेस्टर्न बैंक अफ अमेरिकाले आफ्नो बैंकिङ व्यवसायमा आएको उथलपुथलबारे जानकारी दिएको छ। बैंकद्वारा विज्ञप्तिमा २०२३ मार्च १३ पछि नेट आउटफ्लोमा तीव्र गिरावट आएको छ। 

यसको मूल कम्पनी प्याकवेस्ट बैंककर्पको सेयरभाउ पनि बैंकिङ संकटका कारण एक साताभित्रै १९ प्रतिशतले घटेको थियो। 

यसैबीच संकटको यो घडीमा बैंक व्यवस्थापनले रणनीतिक विकल्प खोजेको खबरले बुधबार बैंकको सेयरभाउमा यस्तो प्रभाव परेको छ। प्याकवेस्ट बैंककर्पको सेयरभाउ बुधबार ५६ प्रतिशतले घटेको छ। यसले त्रासको वातावरण सिर्जना भएको छ। 

अमेरिकाको बैंकिङ क्षेत्रमा आएको यो सुनामी सन् २००८ को बैंकिङ संकटभन्दा ठूलो रहेको अर्थविद्हरु बताउँछ। २००८ मा २५ अमेरिकी बैंकहरु धराशायी भएका थिए। यी बैंकको संयुक्त सम्पत्ति ३७४ अर्ब डलर थियो। 

यसपटक ३ अमेरिकी बैंक सिलिकन भ्याली, सिग्नेचर र फर्स्ट रिपब्लिक अहिलेसम्म डुबेका छन्। यी ३ बैंकको संयुक्त सम्पत्ति करिब ५३० अर्ब डलर रहेको छ। यो तथ्यांकले यसपटक अमेरिकी बैंकिङ प्रणाली कति खतरनाक छ भन्ने संकेत गर्छ।

अमेरिकी बैंकिङ क्षेत्रलाई नियालिरहेका धेरै विज्ञहरुले अमेरिकाका अन्य धेरै ठूला–साना बैंक पनि यस बैंकिङ सुनामीको सिकार हुन सक्ने आशंका व्यक्त गरेका छन्। भर्खरै जारी गरिएको नयाँ प्रतिवेदनअनुसार अमेरिकाका १८६ बैंक वित्तीय संकटको सामना गरिरहेका छन्। यस संकटको समयमा फेड रिजर्भबाट महँगी नियन्त्रण गर्न एकपछि अर्को ब्याजदर बढाउँदै लैजाने अवस्था पनि छ। 

त्यस अनुसन्धान प्रतिवेदनमा फेडरल रिजर्भको नीतिगत दर वृद्धि हुँदा विभिन्न बैंकको सम्पत्तिको बजारमूल्यमा कमी आएको अनुमान गरिएको छ।

अमेरिकी केन्द्रीय बैंकले मार्च २०२२ मा सुरु गरेको नीतिगत दर बढाउने प्रक्रिया अझै जारी छ। मंगलबार अबेर राति फेरि ब्याजदर २५ आधार विन्दु वा ०.२५ प्रतिशतले बढाइएको छ। यो फेडद्वारा गरिएको लगातार १० औँ वृद्धि हो। पछिल्लो वृद्धिपछि अब अमेरिकामा ब्याजदर ५ देखि ५.२५ प्रतिशतसम्म पुगेको छ। यो १६ वर्षयताकै उच्च हो। 

बैंकिङ संकटको बीचमा ब्याजदर बढाउने निर्णयले कर्जा लिन गाह्रो भएको छ। उच्च ब्याजदरले गर्दा मानिसहरुले ऋण लिन कम गरे र कम खपतका कारण अर्थव्यवस्था सुस्त हुन थाल्यो। यसको प्रत्यक्ष असर बैंकको स्वास्थ्यमा परेको छ र बैंकको आर्थिक अवस्था निरन्तर खस्किँदै गएको छ। –एजेन्सी