काठमाण्डौ । इन्भेष्टमेन्ट बैंकको लकरमा गोली भेटिएपछि हातहतियार खरखजना, मानव तस्करी तथा वैदेशिक रोजगारीको काममा ठगी गरेको फेला परेपछि ठगी मुद्धामा धरौटी तिरेर छुटेको केही दिनपछि बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९ करोड बढीको बिगो मागदाबी गर्दै विशेष अदालतमा भ्रष्टाचार मुद्धा दायर गरेसँगै निलम्बित सांसद ल्हारकाल लामा सबैलाई चक्मा दिएर अमेरिका भाग्ने तयारीमा लागेका छन् । 

आफ्ना कर्तुतहरु एकपछि अर्को गर्दै विभिन्न निकायका सक्रियतामा पर्दाफास हुन थालेपछि संभावित अन्य काण्डहरुलाई समेत छोप्न उनले अमेरिका भाग्ने तयारी थालेका हुन् । अख्तियारले मुद्धा हाल्नुअघि नै थालिएको तयारी मुद्धा परिसकेपछि थप तीव्र बनेको र छद्मभेषमा उनी भारतको बाटो हुँदै अमेरिका भाग्ने तयारीमा लागेका उनी निकट स्रोतले जनाएको छ । 

लामाको पारिवारिक स्रोतका अनुसार उनी केही साताभित्रै नेपाल छाडेर अमेरिका भागे भने कुनै आश्चर्य हुने छैन । उनी भाग्ने तयारीमा लागेको सूचना अख्तियारले प्राप्त नगरेको त्यहाँका एक अधिकारीले बताए । 'हामी यो सूचनाको बिषयमा गम्भीर भएर खोजबिन गर्छौ ।'-ती अधिकारीले भने । 

चैत पहिलो साता अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनको सम्पत्तिको बिषयमा छानबिन गर्ने क्रममा नेपाल इन्भेष्टमेन्ट बैंकमा उनको नाममा रहेको लकर खोल्न जाँदा त्यहाँ बन्दूकका १४ राउण्ड गोली फेला परेको थियो । ती गोली आफूले एक साथीको अनुरोधमा लकरमा राखेको बयान दिएपछि ल्हारकाललाई हातहतियार खरखजना ऐन अन्तरगत मुद्धा चलाइएको थियो । यो मुद्धा सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारीले हेर्ने चलन छ । काठमाण्डौका प्रजिअले मुद्धाको फैसला गर्दै उनलाई ६६ हजार ७ सय रुपैयाँ धरौटीमा रिहा गरेका थिए । 

काठमाण्डौ जिल्ला अदालतले हातहतियार खरखजना मुद्धामा धरौटिमा छाड्ने आदेश दिएकै दिन वैदेशिक रोजगारीमा करोडौं रुपैयाँ ठगेको उजुरीको आधारमा उनलाई वैदेशिक रोजगार विभागको अनुरोधमा प्रहरीले पक्राउ गरेको थियो । वैदेशिक रोजगार विभागमा समेत धरौटी राखेर उनी छुट्न सफल भएका थिए । 

दुवै निकायबाट पैसा पेलेको भरमा छुटेका र यिनै मुद्धाहरुका कारण सांसद पद समेत गुमेपछि आफूले संचालन गरेका अन्य अबैध धन्दा र ती धन्दाको जालो प्रहरीले पत्ता लगाउने डरले ल्हारकाल लामा अमेरिका पलायन हुन लागेका स्रोतको भनाई छ । ‘उनका धेरै गैरकानूनी धन्दाहरु छन् ।’ परिवारका एक सदस्यले भने–‘नेपालमै बसिरहे प्रहरीले ती सबै धन्दाको गुत्थी पत्ता लगाउनसक्ने ठानेका उनले अमेरिका जाने चाँजोपाजो मिलाइरहेका छन् ।’ 

ल्हारकाल लामा पैसा खुवाएर सभासद(सांसद) भएका व्यक्ति हुन् । सभासद भएपछि उनले शक्तिकेन्द्रको आडमा हतियार ओसारपोसार, मानव तस्करी, नक्कली नोट, सुन तस्करी लगायतका धन्दा संचालन गरेका थिए । पछिल्लो समय सभासद पद समेत खुस्किएपछि र उनको गैरकानूनी धन्दा एकाएक सार्वजनिक भएपछि नेपालमा भविष्य नदेखेका उनले अमेरिका जाने तयारी गरेका हुन् । स्रोतले भन्यो–‘अमेरिका भाग्न लागेका उनलाई पुनः पक्राउ गरेर प्रहरीले अन्य अबैध धन्दाको विषयमा समेत खोजबिन गर्न आवश्यक छ ।’