काठमाण्डौ । युक्रेनमा आक्रमण गरेको विरोधमा अमेरिका र बेलायतले रुसबाट तेल खरिदमा प्रतिबन्ध लगाएका छन्। 

अमेरिकी राष्ट्रपति जो बाइडेनले यो कदमले ‘रुसको अर्थतन्त्रको धेरै महत्वपूर्ण भाग’ लाई नोक्सानी पुर्याउने बताइएको छ। 

तेल र ग्यास निर्यात रुसी अर्थव्यवस्थाका लागि राजस्वको महत्वपूर्ण स्रोत हो। तर, यो कदमले रुससँगै पश्चिमी देशहरुमा पनि प्रभाव पार्ने देखिएको छ।

ठूला ब्रान्डहरुले रुसमा आफ्नो कारोबार बन्द गरिसकेका छन्। म्याकडोनाल्ड्स र कोका–कोलाले भर्खरै रुस छोडेका छन्।

रुसको अर्थतन्त्र ऊर्जा निर्यातमा धेरै निर्भर छ। यो विश्वको तेस्रो ठूलो तेल उत्पादक हो। त्यसभन्दा अगाडि साउदी अरेबिया र अमेरिका आउँछन्।

रुसबाट तेल खरिदमा प्रतिबन्ध लगाउनुअघि रुसले यसको विश्वव्यापी अर्थतन्त्रमा गम्भीर असर पर्ने चेतावनी दिएको थियो। रुसले जर्मनीको मुख्य ग्यास पाइपलाइनमा आपूर्ति बन्द गरिदिने पनि जनाएको छ। 

अमेरिका र बेलायतको यो निर्णयपछि दुवै देशमा तेलको मूल्य रेकर्ड स्तरमा पुगेको छ।

यस निर्णयका लागि अमेरिकी राष्ट्रपति जो बाइडेन दबाबमा परेका थिए। रुसविरुद्ध थप कडा कदम चाल्न माग गरिएको थियो। ‘हामी रुसबाट तेल, ग्यास र ऊर्जाको आयात पूर्ण रुपमा बन्द गर्दैछौँ’, राष्ट्रपति बाइडेनले भने।

यो कदमले अमेरिकामा पनि प्रभाव पार्ने बाइडेनको भनाइ छ। 

त्यस्तै बेलायतले पनि सन् २०२२ को अन्त्यसम्म रुसबाट तेल आयातमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ। 

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले यो कदमले रुसमा तत्काल कुनै प्रभाव नपर्ने तर त्यसले थप दबाब पक्कै पर्ने बताए। जुन आर्थिक प्रतिबन्ध लगाइएको छ, त्यसले रुसको अर्थतन्त्रमा नराम्रो असर पार्नेछ।

अमेरिकामा तेल र प्रशोधित उत्पादन रसियाबाट ८ प्रतिशत आयात हुने गरेको छ भने बेलायतमा ६ प्रतिशत तेल रुसबाट आयात हुने गरेको छ।

युरोपेली युनियन (ईयू) ले पनि रुसी तेलमा आफ्नो निर्भरता घटाउँदै लगेको छ। अमेरिका र बेलायतले जस्तो नभई ईयूले पनि प्रतिबन्ध लगाउनुको सट्टा वैकल्पिक ऊर्जाको स्रोत अपनाउने निर्णय गरेको छ। यसको उद्देश्य सन् २०३० सम्ममा रुसबाट ऊर्जा उत्पादनमा युरोपको निर्भरता घटाउने हो। – एजेन्सी