काठमाण्डौ । बेलायतको अर्थतन्त्र धेरै समस्याको सामना गरिरहेको छ। मुद्रास्फीतिको असरले जनता मर्कामा परेका छन्। जसरी मुद्रास्फीति बढिरहेको छ, त्यसअनुसार जनताको तलब बढेको छैन।

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले यो वर्ष सबै प्रमुख अर्थतन्त्रको वृद्धिदरको प्रक्षेपण गरे पनि बेलायतको अर्थतन्त्रमा गिरावट आउने बताएको तथ्यबाट अवस्था कति खराब छ भन्ने अनुमान गर्न सकिन्छ।

बैंक अफ इंग्ल्यान्डले यो वर्ष बेलायत मन्दीमा पर्ने अनुमान गरेको छ। यद्यपि मन्दीको यो चरण छोटो हुनेछ र पहिले जस्तो आशंका उठाइएको थियो जस्तो हुने छैन।

कोरोना महामारी, रुस–युक्रेन युद्ध र बढ्दो ऊर्जा र खाद्यान्नको मूल्यले बेलायतको अर्थतन्त्रलाई निरन्तर कमजोर बनाउँदै लगेकोले यो कुनै अचम्मको कुरा होइन।

अनुमानहरु सधैँ सही हुँदैनन्। धेरै कुराले अर्थतन्त्रलाई असर गर्छ। यसमा भूराजनीतिदेखि मौसमसम्म सबै समावेश छ। यही कारणले गर्दा अर्थतन्त्रका बारेमा धेरै पटक गरिएका भविष्यवाणी सही साबित हुँदैनन्। तर, त्यस्ता मूल्यांकनले कुरा कुन दिशामा गइरहेको छ भन्न सक्छ।

अहिलेको अवस्था हेर्दा वर्तमानको कठिन परिस्थितिले बेलायतलाई अन्य देशभन्दा बढी सताएको देखिन्छ। धनी देशको आर्थिक कार्यसम्पादनको अनुगमन गर्ने संस्था ओईसीडीका अनुसार कोरोना महामारीको सुरुआती महिनामा बेलायतको अर्थतन्त्र अन्य धनी देशको तुलनामा धेरै खस्किएको छ।

बेलायत पछाडि परेकै हो ? 

महामारीपछि अर्थतन्त्र पुनः खोलिएपछि त्यहाँको अर्थतन्त्रमा द्रुत गतिमा सुधार आएको थियो तर अघिल्लो घाटाको पूर्ति गर्न यो द्रुत गतिमा थिएन। यद्यपि, बेलायत र अन्य प्रमुख अर्थतन्त्रबीचको खाडल त्यति ठूलो छैन जस्तो देखिन्छ। किनकि धेरै देशले स्वास्थ्य र शिक्षाजस्ता सार्वजनिक सेवाहरुको उत्पादन पनि गणना गर्छन्।

उदाहरणका लागि नर्सको तलब त्यसमा लाग्ने लागतअनुसार गणना गरिन्छ। तर, बेलायतमा फरक हिसाबले गणना गरिन्छ। त्यहाँ प्रदान गरिएको सेवा मूल्यमा छ।

बैंक अफ इंग्ल्यान्ड र आईएमएफ दुवैले यो वर्ष बेलायतको अर्थतन्त्र संकुचित हुने बताएका छन्। जबकि जी७ देशहरुको अन्य अर्थतन्त्रहरु यस वर्ष बढ्ने सम्भावना छ।

जुलियन जेसपजस्ता स्वतन्त्र अर्थशास्त्रीहरु विश्वास गर्छन् कि आईएमएफले बेलायती अर्थतन्त्रको सम्भावनाको अत्यधिक निराशावादी मूल्यांकन गरिरहेको छ। आईएमएफ र स्वतन्त्र अर्थशास्त्रीहरुको मूल्यांकनबीचको भिन्नताबारे छलफल भइरहेको छ। जेहोस् बेलायती अर्थतन्त्रको प्रदर्शनमा गिरावट आउनुमा केही कारणहरु छन्।

यो ब्रेक्जिटको प्रभाव हो ?

ब्रेक्जिटका कारण अर्थतन्त्रमा भएको क्षतिको तथ्यांकमा फरक छ। ब्लुमबर्गको प्रतिवेदन अनुसार ब्रेक्जिटका कारण बेलायतको अर्थतन्त्रले वार्षिक १०० अर्ब पाउन्डको नोक्सानी व्यहोर्नुपरेको छ। बेलायत युरोपेली युनियनको हिस्सा बनेको भए यसको अर्थतन्त्र ४ प्रतिशतले घट्ने थियो।

स्वतन्त्र थिंक ट्यांक इन्स्टिच्युट फर फिस्कल स्टडिजका उपनिर्देशक कार्ल इमर्सनले भने, ‘युरोपियन युनियन विश्वको सबैभन्दा धनी क्षेत्र हो। तर, राम्रो होस् वा नराम्रो हामीले समूहसँग व्यापार गर्न अझ गाह्रो बनाएका छौँ। यसले बेलायतको अर्थव्यवस्था अगाडि बढाउन अझै मुश्किल बनाइदिएको छ।’

सन् २०१६ मा ब्रेक्जिटमा जनमत संग्रह भएदेखि व्यापार लगानी पनि ठप्प भएको इमर्सनको भनाइ छ। यसले वृद्धिदरलाई थप कमजोर बनाएको छ। बैंक अफ इंग्ल्यान्डका एक नीति निर्माताले यसअघि युरोपेली संघका कामदारहरु स्वतन्त्र रुपमा बेलायत आउने गर्थे तर अहिले त्यस्तो नभएको बताएका छन्। यसले आतिथ्य, कृषि र हेरचाह क्षेत्रका लागि पर्याप्त कामदार पाउन गाह्रो भएको छ। यसका कारण बेलायतको अर्थतन्त्रमा २९ अर्ब पाउन्डको लगानी घाटा भएको उनीहरुको भनाइ छ।

आफूलाई ‘ब्रेक्जिट अप्टिमिस्ट’ भन्ने जुलियन जेसप पनि अहिले ब्रेक्सिटमा केही कठिनाइ भए पनि युरोपेली युनियनबाट बाहिरिएपछि बेलायतलाई धेरै फाइदा हुने विश्वास छ। उनी भन्छन्, ‘युरोपियन युनियनबाट बाहिरिएपछि बेलायत अझै पनि परिवर्तनको अवधिमा छ। अहिले यहाँ नकारात्मक कुराले प्रभुत्व जमाएको छ। कतिपयले यसको प्रभावलाई बढाइचढाइ गरिरहेका छन्। तर, अधिकांश कठिनाइहरु अस्थायी हुनेछन्।’

अर्थतन्त्रलाई अरु के असर गर्छ ?

ऊर्जाको मूल्य

युक्रेनमा रुसले आक्रमण गरेपछि विश्व बजारमा ऊर्जाको मूल्य बढेको छ। तर, यसको प्रभाव विभिन्न देशहरुमा फरक–फरक छ। अमेरिकासँग जीवाश्म इन्धनको आफ्नै स्रोत छ र युरोपेली देशहरुसँग वैकल्पिक ऊर्जाको धेरै स्रोतहरु छन्। इमर्सन भन्छन्, ‘उदाहरणका लागि फ्रान्समा आणविक नेटवर्कको ठूलो दायरा छ र नर्वेमा धेरै जलविद्युत छ।’

जुलियन जेसप भन्छन्, ‘यस मामिलामा बेलायत खाली छ। यसबाहेक बेलायतमा बिजुलीको मूल्य ग्यासको मूल्यमा निर्भर गर्दछ। ग्यासबाट बिजुली बनाउन सबैभन्दा महँगो छ। यसले बेलायतमा जनताको बिजुलीको बिल निकै बढेको छ र यसका कारण मुद्रास्फीति अनियन्त्रित बन्दै गएको छ।’

श्रम अभाव

कोरोना महामारीका बेला अधिकांश अर्थतन्त्रमा श्रमिक अभाव देखिएको थियो। तर, बेलायतको स्थिति अरुभन्दा खराब छ। महामारीपछि पनि त्यहाँ कामदार फर्किने गति सुस्त भएको छ।

अर्थशास्त्रीहरुले यसको कारण खोजिरहेका छन्। तर, अहिलेको अवस्थामा युवाहरु काममा फर्किनुको सट्टा पढाइमा व्यस्त छन्। बूढाहरुले चाँडै अवकाश लिएका छन् र धेरै व्यक्तिहरुले पुरानो रोगको सट्टामा उपलब्ध सुविधाहरुको फाइदा लिइरहेका छन्। तर, कामदारको संख्या भने बढ्ने सम्भावना छ। यसले यो वर्षको अन्त्यसम्ममा वृद्धि र कर राजस्वमा वृद्धि हुने अपेक्षा गरिएको छ।

दीर्घकालीन समस्याहरु

क्याम्ब्रिज युनिभर्सिटीका अर्थशास्त्री डियान कोयल भन्छिन्, ‘बेलायतको अर्थतन्त्रको कमजोर प्रदर्शन केही थप आधारभूत कारकहरु पनि हो। बेलायतको अर्थतन्त्र २००८ को वित्तीय संकटपछि सुस्त देखिन्छ। तर, १९९० को दशकदेखि यहाँ लगानी सुरु भएपछि समस्या पहिलेदेखि नै सुरु भयो। जसका कारण यहाँको अर्थतन्त्रले एकपछि अर्को गर्दै आएका ब्रेक्जिट, कोविड र अहिले रुस–युक्रेन युद्धको सामना गर्न सकेको छैन।’

यद्यपि सरकारले बेलायतको अर्थतन्त्रमा यी विषयमा पर्याप्त लचकता रहेको भन्दै आएको छ।

सन् २०२२ मा बेलायत कुनै न कुनै रुपमा मन्दीबाट बचेको थियो। यो उदाहरण उद्धृत गर्दै वित्तमन्त्री जेरेमी हन्टले भने, ‘तथ्यांकले बेलायतको अर्थतन्त्रमा संकट सामना गर्ने क्षमता रहेको देखाउँछ। तर देश अझै समस्याबाट बाहिर आएको छैन।’ –बीबीसीबाट भावानुवादित