काठमाण्डौ । अमेरिका जान खोज्दै हुनुहुन्छ ? त्यसो हो भने अब तपाईले आफ्ना भिजा अधिकारीलाई आफ्नो सोसल मिडिया अकाउण्टको पासवर्ड दिनुपर्ने हुनसक्छ । अमेरिकाको होमल्याण्ड सेक्युरिटी विभागका सेक्रेटरी जोन केलीले अमेरिका आउन चाहनेको सोसल मिडियाको अकाउण्टबाट उसको पृष्ठभूमिको बिषयमा जान्न सहज हुने बताएका छन् ।

केलीले हाउस होमल्याण्ड सेक्युरिटी कमिटीका सामुन्ने सुनुवाईको क्रममा भनेका थिए कि सुरक्षा बढाउनका लागि अधिकारीहरुले अमेरिका आउनेवालासँग सोसल मिडिया र त्यसको पासवर्ड समेत माग्न सक्नेछन् । यसबाट सम्बद्ध व्यक्तिले कुन साइट्स बढी हेर्छ र के गर्छ भन्ने कुरा जान्न सहज हुने उनको भनाई छ । उनले यदि अमेरिका आउने विदेशीले यो बिषयमा सहयोग नगरे उसले अमेरिका आउन दुःख नगरे हुने बताएका छन् । 

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सात देशका मानिसको इमिग्रेसन रोक्ने आफ्नो आदेशविरुद्ध अदालत लागेको भन्दै त्यसको आलोचना गरेका थिए । उनले यो आदेश राजनीतिक हिसाबले मात्र दिइएको दाबी गरेका थिए । उनले अदालत समेत कतैबाट प्रभावित भएकोसम्म आरोप लगाएका छन् । ट्रम्प प्रशासनले ७ मुस्लिम बाहुल्य देशका नागरिकलाई अमेरिका आउन प्रतिबन्ध लगाउन आदेश दिएको थियो । उनको आदेशविरुद्ध तल्लो अदालतले रोक लगाएको छ । ट्रम्प प्रशासनले यो फैसलाविरुद्ध अपील गरेको छ ।