काठमाण्डौ । नेपालको इतिहासमै अमेरिकी डलरको भाउले शुक्रबार दोस्रो उच्च विनिमय दरको रेकर्ड बनाएको छ। 

नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि अमेरिकी डलरको खदिदर प्रतिडलर ११८.४४ रुपैयाँ र बिक्रीदर प्रतिडलर ११९.०४ रुपैयाँ तोकेको छ। जुन अहिलेसम्मकै दोस्रो उच्च विनिमय दर हो। 

यसअघि सन् २०१८ अक्टोर १० तारिखमा नेपालमा अमेरिकी डलरको खरिददर प्रतिडलर ११८.७३ र बिक्रीदर प्रतिडलर ११९.३३ रुपैयाँ कायम भएको थियो। यो विनिमय दर नै अहिलेसम्मको उच्च हो। 

विश्व्यापी महामारीका रुपमा घोषित कोरोनाभाइरसले विश्व अर्थतन्त्रमा व्यापक असर पारिरहेको भए पनि अमेरिकी अर्थतन्त्र सबल बन्दा यसको मुद्रा नेपाली मुद्राको तुलनामा बलियो देखिएको हो। लगातार बढिरहेको अमेरिकी डलरको विनिमय दर हिजो बिहीबार भने अघिल्लो दिनको तुलनामा केही घटेको थियो।  

नेपाल राष्ट्र बैंकले हिजो बिहीबार लागि अमेरिकी डलरको खरिददर प्रतिडलर ११७.५२ र बिक्रीदर प्रतिडलर ११८.१२ रुपैयाँ तोकेको थियो। बुधबारको तुलनामा डलरको भाउ ७८ पैसा खस्किएको हो। 

हिजो बुधबार खरिददर प्रतिडलर ११८.३० रुपैयाँ र बिक्रीदर प्रतिडलर ११८.९० रुपैयाँ रहेको थियो। बुधबार भने मंगलबार तुलनामा ६ पैसाले डलरको भाउ बढेको थियो। 

राष्ट्र बैंकले मंगलबारका लागि अमेरिकी डलरको खरिद दर प्रतिडलर ११८.२४ रुपैयाँ र बिक्रीदर प्रतिडलर ११८.८४ रुपैयाँ तोकेको थियो। 

नेपाली मुद्राको भारतीय रुपैयाँसँग स्थिर विनिमय दर रहने गरेका कारण पनि केही समयता डलरको तुलनामा भारु खस्किँदा नेपाली रुपैयाँको मूल्यसमेत कमजोर हुने गरेको छ।

डलरको भाउ बढ्नेबित्तिकै विदेशी सामानहरू नेपालीका लागि महँगो हुन जाने भएकाले यसको असर प्रत्यक्ष रुपमा नेपाली अर्थतन्त्रमा देखिने अर्थविद्हरु बताउँछन्।