काठमाण्डौ । निकै उतारचढावका बीच अमेरिकी डलरको भाउ आज शनिबार फेरि उकालो लागेको छ।

नेपाल राष्ट्र बैंकले विदेशी मुद्राहरुका लागि शनिबार कायम गरेको विनिमय दरअनुसार प्रतिडलर खरिददर १२२.०३ रुपैयाँ र बिक्रीदर १२२.६३ रुपैयाँ कायम भएको छ। जुन हिजो शुक्रबारको तुलनामा ६१ पैसाले बढी हो। 

हिजो शुक्रबार प्रतिडलर खरिददर १२१.४२ रुपैयाँ र बिक्रीदर १२२.०२ रुपैयाँ कायम भएको थियो। यो दिन डलरको भाउमा अघिल्लो दिनको तुलनामा ९६ पैसाले घटेको हो।

गत बिहीबार प्रतिडलर खरिददर १२२.३८ रुपैयाँ र बिक्रीदर १२२.९८ रुपैयाँ कायम भएको थियो। यो दिन अघिल्लो दिन बुधबारको तुलनामा डलरको भाउ २६ पैसाले घटेको थियो।

डलरको भाउले गत बुधबार अप्रिल २२ मा नेपालकै इतिहासमा सर्वाधिक उचाइ कायम गरेको थियो। यो दिन प्रतिडलर खरिददर १२२.६४ रुपैयाँ र बिक्रीदर १२३.२४ रुपैयाँ रहेको थियो। 

विश्वमहामारी कोरोनाभाइरसले अमेरिकी अर्थतन्त्र र स्वास्थ्य क्षेत्र निकै प्रभावित भइरहेको बेला डलरको भाउ बलियो बन्दै गइरहेको छ। डलरको भाउ बलियो बन्दा नेपाली मुद्रा भने कमजोर बनिरहेको छ।

भारतीय मुद्रासँग स्थिर विनिमय दर रहेको नेपाली मुद्रा अमेरिकी डलरसामु कमजोर बन्दै वैदेशिक व्यापारमा गरिने भुक्तानी बढ्न जान्छ। यसले नेपालको अर्थतन्त्र पनि असर पुर्याउँछ।