काठमाण्डौ । अमेरिकामा कोरोना महामारीको गति बढ्दै गइरहेको र अर्थतन्त्रको पुनर्उत्थानका लागि जो बाइडेनले तयारी गरिरहेका बेला जेपी मोर्गानले अमेरिकी अर्थतन्त्र संकुचित हुने खतरामा रहेको चेतावनी दिएको छ । 

अमेरिकी जनता कोरोनाविरुद्धको भ्याक्सिनको पर्खाइमा रहेका बेला जेपी मोर्गान अर्काे वर्षको सुरुवातमा अमेरिकाको जीडीपी ऋणत्मक हुने प्रक्षेपण गर्ने पहिलो वाल स्ट्रिट बैंक बनेको छ । 

“यो जाडोयाम कठिन हुनेछ ।” जेपी मोर्गानका अर्थशास्त्रीले क्लाइन्ट नोटमा लेखेका छन्, “र हामीले वर्षको पहिलो त्रैमासमा अर्थतन्त्र संकुचन हुने विश्वास लिएका छौ ।” 

यो गर्मीयाममा अमेरिकी अर्थतन्त्रमा देखिएको वृद्धिले विस्तारै लय गुमाउँदै गइरहेको छ । यो वर्षको तेस्रो त्रैमासमा वार्षिक ३३.१ प्रतिशतको रेकर्डतोड वृद्धि देखिएको थियो । तर अहिले जेपी मोर्गानले वर्षको चौथो त्रैमासमा अमेरिकी जीडीपी २.८ प्रतिशतले र सन् २०२१ को पहिलो त्रैमासमा १ प्रतिशले संकुचित हुने अनुमान लगाइरहेको छ । 

यतिबेला अमेरिकी फेडेरल सरकारले देशको नयाँ आर्थिक कमजोरीलाई कसरी सम्बोधन गर्ने भनेर कुनै सहमति स्थापना गर्न सकेको छैन । वर्षको अन्त्यसम्म १ करोड २० लाख अमेरिकीले आर्थिक सहायता गुमाउन सक्ने अवस्थामा रिपब्लीकन र डेमोक्र्याट निरन्तर रुपमा नयाँ वित्तीय राहतको विषयमा सहमति जुटाउन असफल भइरहेका छन् । 

संकटको यो घडिमा यसैबीच अमेरिकी ट्रेजरी विभाग र केन्द्रिय बैंकबीच दुर्लभ सार्वजनिक मतभेद देखिएको छ । अमेरिकी ट्रेजरी विभागले फेडेरल रिर्जभको ४५५ बिलियन डलर आपतकालिन कर्जा कार्यक्रम अन्तर्गत प्रयोग भइरहेको बताएपछि यि दुईबीच मतभेद देखिएको हो । 

अमेरिकी अर्थतन्त्रमाथि मडारिरहेको कालो बादल बीच चादिँको सुनौलो घेरा समेत देखिएको छ । समाचारअनुसार अर्काे वर्षदेखि अमेरिकी अर्थतन्त्र लयमा फर्कने सक्ने देखिएको छ । भ्याक्सिन निर्माता फाइजर र मार्डनाले आफ्नो परिक्षणको सुरुवाति नतिजाले कोरोना विरुद्धको भ्याक्सिन ९५ प्रतिशत प्रभावकारी देखिएको बताएका पछि अमेरिकी अर्थतन्त्र लयमा फर्कने सुरसार देखिएको हो । भ्याक्सिन निर्माताहरुले आफ्नो खोप ९५ प्रतिशत प्रभावकारी देखिएको भन्ने दाबी विज्ञहरुले अनुमान गरेभन्दा अधिक हो । 

कोरोना भ्याक्सिन वितरण गर्न केहि समय लागेपनि यसले महामारीले सबैभन्दा धेरै प्रभावित बनेका होटल, एअरलाइन्स, रेष्टुराँ, सामुन्द्धीक यातायात र फिल्म क्षेत्रलाई राहात प्रदान गर्नेछ । 

जेपी मोर्गानका अर्थशास्त्रीले भ्याक्सिनको प्रारम्भिक सफलताले कोरोनाभाइरसले अर्थतन्त्रमा पुर्याएको क्षती कम गर्न सहयोग गर्ने विश्वास लिएको बताएका छन् । 

जेपी मोर्गानले अर्काे वर्षको दोस्रो र तेस्रो त्रैमासमा अमेरिकी अर्थतन्त्र क्रमश ४.५ र ६.५ प्रतिशतले वृद्धि हुने प्रक्ष्येपण गरेको छ । 

यद्यपी व्यापक मात्रामा फैलिरहेको कोरोना महामारीले अमेरिकी अर्थतन्त्रमा प्रभाव पार्ने संकेतहरु वृद्धि हुन थालेका छन् । 

अप्रिल महिनाबाट बार र रेष्टुराँको व्यापार घट्न थालेदेखि अक्टोबर महिनामा अमेरिकाको खुद्धा बिक्री मुश्किल ले वृद्धि भएको छ । 

सन् २०२१ मा देखिने दु्रत गतिको पुर्नउत्थानले अमेरिकी अर्थतन्त्रमा देखिएको खाडलहरु पुरिने विश्वास गरिएको छ । तर जेपी मोर्गानले केही दीर्घकालिन क्षतीहरुलाई भने नर्कान र पन्छाउन असम्भव देखिएको बताएको छ ।