काठमाण्डौ । कोभिड महामारीको बेला नेपालमा जारी लकडाउनको समयमा नेपालमा अलपत्र परेका आफ्नो देशका नागरिकहरुको खोज तथा उद्धारको उत्कृष्ट कार्य गरेको भन्दै बुधबार नेपालस्थित अमेरिकी दूतावासले नेपाल पर्यटन बोर्डलाई सम्मान गरेको छ।

दूतावासको टाउन हलमा आयोजित भर्चुअल कार्यक्रममा बुधबार दूतावासले पर्यटन बोर्डलाई सम्मान गरेको हो। लडाउनको कठिन समयमा बोर्डले उद्धार उडानमार्फत (रिपाट्रिएसन फ्लाइट) आफ्नो देशका पर्यटकलाई स्वदेश फिर्ता गर्न सहयोग गरेको र त्यो कार्यको अमेरिकी जनता र दूतावासले उच्च मूल्यांकन गरेको उल्लेख गर्दै बोर्डलाई यो सम्मान प्रदान गरिएको दूतावासले जनाएको छ।  

कार्यक्रममा नेपालका लागि अमेरिकी राजदूत ¥यान्डी बेरीले नेपाल र अमेरिकाबीच लामो कुटनीतिक सम्बन्ध रहेको उल्लेख गर्दै नेपालको आर्थिक सामाजिक विकासमा अमेरिकाले सधै सहयोग गर्नेसमेत बताए। 

अमेरिकी सिटिजन सर्भिसका चिफ डेमार्क स्चुल्जले कोभिडको समयमा बोर्डले खेलेको भूमिका प्रशंसनीय भएको उल्लेख गर्दै त्यसका लागि अमेरिकी नागरिकका तर्फबाट धन्यवाद ज्ञापन गरे। 

दूतावासको सम्मानपछि प्रतिक्रिया दिँदै पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले कोभिडको समयमा नेपालले गरेका कायबाट बोर्डले सम्मान पाउनु नेपाली पर्यटन क्षेत्रका लागि खुसीको कुरा भएको बताए। उनले विभिन्न निकायको सहयोग र समन्वयले मात्र बोर्डले यो सम्मान पाएको उल्लेख गरे।