काठमाण्डौ । सन् २०१६ मा अमेरिकी अर्थतन्त्रले गिरावटको निकै ठूलो झट्का भोग्नुपरेको छ । २०१६ को अक्टोबर डिसेम्बर त्रैमासको अमेरिकी अर्थव्यवस्थाको वृद्धि दर १.९ प्रतिशत थियो । तर पूरा सालको वृद्धि दर भने १.६ प्रतिशतमा सीमित बन्न पुुगेको हो । 

सन् २०११ पछि अमेरिकी अर्थव्यवस्था सबैभन्दा कमजोर भएको यो नै पहिलोपटक रहेको एजेन्सीहरुले जनाएका छन् । 

अमेरिकी वाणिज्य मन्त्रालयले जारी गरेको विज्ञप्तिका अनुसार अन्तिम त्रैमासमा जीडीपी ग्रोथ १.९ प्रतिशत रहेकोमा तेस्रो त्रैमासमा भने यो रेट ३.५ प्रतिशतको उचाईमा थियो । अमेरिकी व्यापार घाटा बढेसँगै ग्रोथ रेटमा यसरी पहिरो गएको हो । 

एजेन्सीहरुका अनुसार सन् २०१६ मा अमेरिकी अर्थव्यवस्थाको वृद्धिदर १.६ मा सीमित बन्न पुुगेको छ, सन्  २०११ पछिको यो नै सबैभन्दा तल्लो स्तर हो । सन् २०१५ मा अमेरिकी अर्थतन्त्रको वृद्धिदर २.६ प्रतिशत रहेको थियो । हालै अमेरिकाको ४५ औं राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले करमा कटौति तथा इन्फ्रास्टक्चरमा खर्च बढाएर तथा अन्य उपाय अवलम्बन गरी अमेरिकी अर्थतन्त्रको ग्रोथ रेटलाई दोब्बर बनाउने घोषणा गरेका छन् ।