काठमाण्डौ। विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र अमेरिका यतिबेला समस्यामा देखिएको छ। 

महँगी ४० वर्षकै उच्च विन्दुमा छ। सेयर बजारको अवस्था बिग्रिएको छ। पहिलो त्रैमासमा जीडीपीमा गिरावट आएको छ र ब्याजदर पनि निरन्तर वृद्धि भइहरहेको छ। 

अर्थशास्त्रीहरुले अमेरिका आर्थिक मन्दीतर्फ धेकेलिँदै गएको बताएका छन्। अमेरिकी सेयर बजार एस एन्ड पी ५०० यस वर्षको सुरुआतमा करिब आठ दशककै सबैभन्दा खराब अवस्थामा रहेको छ। 

सीएनएनको रिपार्टका अनुसार यस वर्षको जनवरीदेखि अप्रिलको बीचमा एस एन्ड पी ५०० इन्डेक्समा १३ प्रतिशतको गिरावट आएको छ। जुन सन् १९३९ पछिकै खराब सुरुआत हो। 

तथापि, अहिलेको सेयर बजारको तुलनामा ८३ वर्षअघिको सेयर बजारसँग गर्नु त्यति उपयुक्त नहोला। किनकि पहिले एस एन्ड पी ५०० मा ९० वटा कम्पनीमात्रै समावेश थिए। तर, लगानीकर्ताका लागि भने यो त्यसबेलादेखि लिएर अहिलेसम्मको सबैभन्दा खराब सुरुआत हो। 

अप्रिल महिनामा डाउ जोन्समा पनि ९ प्रतिशतको गिरावट आएको छ। त्यस्तै ठूला टेक कम्पनी समावेश नास्डकमा पनि २१ प्रतिशतको गिरावट आएको छ। 

वाल स्ट्रिटमा एउटा पुरानो भनाइ छ, ‘मे महिनामा बेच र भाग’। 

बुलिस ट्रेडर्सहरु गर्मी महिनाको सुरुवातमा ब्रेक लिन्छन्। जसका कारण अमेरिकी सेयर बजारमा गिरावट आउँछ भन्ने मान्यता रहेको पाइन्छ। यो गिरावट विन्टर भ्याकेसन अघिसम्मै जारी रहने गर्छ। 

यो वर्ष भने यो गिरावट समयअघि नै सुरु भएको छ। जस कारण अमेरिकी लगानीकर्ता अत्तालिएका छन्। 

महँगीसँग जुध्नका लागि फेडरल रिजर्भले ब्याज दरमा आक्रामक वृद्धि गर्ने तयारी गरेको छ। चीनमा लकडाउन सुरु हुनुअघि नै विश्वभरका लगानीकर्तामा भय सिर्जना भइसकेको थियो। त्यसमाथि रुस–युक्रेन युद्धले आगोमा घ्यु थप्ने काम गर्यो। 

यी सबै घटनाक्रमका कारण अमेरिकामा आर्थिक मन्दीको आशंका उत्पन्न भएको छ। अमेरिकी कम्पनी अमेजन, मेटा(फेसबुक) र नेटफिलिक्स जस्ता कम्पनीको सेयरमूल्यमा सबैभन्दा धेरै गिरावट आएको छ। कुनै बेला लगानीकर्ताको पहिलो रोजाइमा पर्ने नेटफिलिक्सको सेयरमूल्य यो वर्ष ६८ प्रतिशतले घटिसकेको छ। –एजेन्सी