काठमाण्डौ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अमेरिकाको सिलिकन भ्याली बैंक बन्द हुँदा प्राविधिक जगतमा ‘गहिरो संकट’ आएको प्रतिक्रिया दिएका छन्। 

अमेरिकी इतिहासमा दोस्रो पटक यसरी बैंकमा ताला लगाइएको हो  यसबारे इजरायलका प्रधानमन्त्रीले आफूले अवस्थालाई नजिकबाट नियालिरहेको बताएका छन्।

नेतन्याहुले अमेरिकी बैंक बन्द भएपछि इजरायलको प्राविधिक जगतका शीर्ष व्यक्तिहरुसँग सम्पर्कमा रहेको पनि बताए। उनले भने, ‘आवश्यक परेमा इजरायली कम्पनी जसको गतिविधिको केन्द्र इजरायल रहेको र यही उथलपुथलका कारण नगद प्रवाहको संकट उत्पन्न भएको छ, त्यसलाई सरकारले सहयोग गर्नेछ।’

यद्यपि, नेतान्याहुले इजरायलको अर्थतन्त्र बलियो र स्थिर रहेको दाबी पनि गरे। उनी अहिले औपचारिक भ्रमणका क्रममा रोममा छन्। उनले स्वदेश फर्किएपछि अर्थमन्त्री, आर्थिक मामिलाका सल्लाहकार, केन्द्रीय बैंकका गभर्नरसँग बसेर संकटको गम्भीरताबारे छलफल गर्ने बताएका छन्। 

सिलिकन भ्याली बैंक बन्द भएपछि प्रविधिको दुनियाँमा त्रासको वातावरण सिर्जना भएको छ। यस बैंकको बेलायत, इजरायललगायत अन्य धेरै देशमा पनि शाखा छन्।

अमेरिकी नियामकहरुले शुक्रबार आर्थिक संकट सामना गरिरहेको यो लगानी बैंक बन्द गर्ने घोषणा गरेका थिए । हाल यस बैंकको रिसिभरका रुपमा यूएस फेडरल डिपोजिट इन्स्योरेन्स कर्पोरेसन (एफडीआईसी) नियुक्त गरिएको छ। जसले थप काम गर्नेछ। –एजेन्सी