काठमाण्डौ । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको २४ औँ वार्षिक साधारणसभा (एजीएम) आज (असोज २४ गते) हुँदैछ। 

कम्पनीले गत आर्थिक वर्षको लाभांश र हकप्रद निष्कासनको मुख्य अजेन्डा अनुमोदन गर्न आज वार्षिक साधारणसभा डोकेको हो। कम्पनी कार्यक्रमस्थल भने परिवर्तन गरेको छ। 

यसअघि कम्पनी सञ्चालक समितिले सभा काठमाण्डौको थापालथीस्थित ट्रेड टावरमा रहेको आफ्नै कार्यालयमै सभा आयोजना गर्ने निर्णय गरेको थियो। तर समितिले उक्त निर्णय परिमार्जन गर्दै सभा काठमाण्डौको दरबारमार्गस्थित होटेल ल्यान्डमार्कमा आयोजना गर्ने निर्णय गरेको छ। सभा बिहान ११ बजेदेखि भर्चुअल माध्यमबाट हुनेछ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई प्रस्ताव गरिएको चुक्तापुँजीको कुल १०.५२६ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा १० प्रतिशत बोनस सेयर र ०.५२६ प्रतिशत नगद लाभांश (करसहित) रहेका छन्।

सोही सभाले बोनस सेयर वितरणपछि कायम हुने चुक्तापुँजीको १ः०.५ प्रतिशत अर्थात ५० प्रतिशत हकप्रद जारी गर्ने मुख्य प्रस्ताव पनि पारित गर्नेछ। 

लाभांश र सभा प्रयोजनका लागि कम्पनीले गत असोज ११ गते बुक क्लोज गरिसकेको छ। यस अर्थ असोज १० गतेसम्म कायम सेयरधनीहरुमात्र लाभांश पाउन र सभामा भाग लिन योग्य भएका छन्।