– अर्जुन तिमिल्सिना
काठमाण्डौ । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी नेपालमा पुरानो जलविद्युत कम्पनीमध्ये एक हो। यो कम्पनी सन् १९९८ मा स्थापित हो। पछि सन् २००५ मा यो कम्पनी पब्लिक लिमिटेड कम्पनीका रुपमा परिणत भएको थियो।
सोही समयमा कम्पनीले ८४ रुपैयाँ प्रिमियम थप गरेर १८४ रुपैयाँमा सर्वसाधारणलाई आईपीओ बिक्री खुला गरेको थियो। कम्पनीले हाल अपी हाइड्रो, रिडी हाइड्रो, हिमालयन ऊर्जा विकास कम्पनी, अरुण काबेलीलगायतको कम्पनीहरुमा लगानी गरेको छ।
कम्पनीले हाल १ः१ अनुपात अर्थात चुक्तापुँजीको सतप्रतिशत हकप्रद निष्कासनका लागि विद्युत् नियमन आयोगबाट अनुमति पाएको छ। उक्त हकप्रद सेयर बिक्रीबाट प्राप्त रकममध्ये ९३ करोड ३९ लाख ८१ हजार ३०० रुपैयाँ पीके हाइड्रोपावर प्रालिले विकास गर्दै गरेको लिखु खोला जलविद्युत आयोजना (३० मे.वा.)को निर्माणका लागि आवश्यक पर्ने स्वपुँजीका लागि पिके हाइड्रोपावरको संस्थापक सेयरमा लगानी गर्ने निर्णय कम्पनीले गरिसकेको छ। बाँकी रकम ९३ करोड ३९ लाख ८१ हजार ३०० रुपैयाँ कम्पनीले निर्माण सम्पन्न गरी सञ्चालनमा रहेको काबेली बी–१ क्यासकेड जलविद्युत आयोजनाको निर्माण चरणमा बैंकहरुबाट लिएको ऋण भुक्तानी गर्नका लागि उपयोग गर्ने कम्पनीले निर्णय गरेको छ।
आधारभूत पक्ष
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीको चुक्तापुँजी १ अर्ब ८७ करोड रुपैयाँ र जगेडा कोषमा ६ करोड ९० लाख रुपैयाँ रहेको छ। समीक्षा अवधिमा कम्पनीले ६ करोड ४५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको यही अवधिमा कम्पनीको नाफा करिब १० करोड रुपैयाँ रहेको थियो। यो भनेको चालु आर्थिक वर्षमा ३५ प्रतिशतले कम हो।
तेस्रो त्रैमासमा कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ४.६ रुपैयाँ रहेको छ। अघिल्लो आर्थिक वर्षमा कम्पनीको ईपीएस ७.७१ रुपैयाँ रहेको थियो। यो भनेको ४० प्रतिशत कम हो। हाल कम्पनीको बुक भ्यालु १०३.७ रुपैयाँ रहेको छ भने रिटर्न अन इक्विटी ७.०५ प्रतिशत रहेको छ।
प्राविधिक पक्ष
इचिमोकुका आधारमा
इचिमोकुका आधारमा यो कम्पनीलाई हेर्दा बढ्ने क्रम सुरु हुँदै गएको देखिन्छ। साप्ताहिक बेसमा हेर्दा मूल्यरेखाहरु क्रमशः क्लाउड पोजिसनमा पस्दै गरेको देखिन्छ।
त्यसैगरी बेस लाइनलाई कन्भर्जन लाइनले तलबाट काट्दै गरेको देखिन्छ भने २६ दिन पछाडि चल्ने ल्यागिङ स्पान पोजिसनले पनि विस्तारै माथिको यात्रा तय गर्दै गरेको देखिन्छ। क्लाउडको पोजिसन रातो नै रहेको छ तर लिड–१ र लिड–२ को दूरी क्रमशः कम हुँदै गएको देखिन्छ।
यदि आगामी दिनमा मूल्यरेखा क्लाउड पोजिसनभन्दा माथि–माथि जान्छन् र क्लाउडको पोजिसन पनि रातोबाट हरियो हुन्छ भने यो कम्पनीको माथिको यात्रा तय हुँदै गरेको बुझिन्छ। (हेर्नुहोस् माथि मुख्य तस्बिरमा)
फियर एन्ड ग्रिड मिटरका आधारमा
फियर एन्ड ग्रिड मिटरमा यो कम्पनी न्युट्रल सेन्टिमेन्ट रहेको देखिन्छ। यो भनेको लगानीकर्ताको मनोबल यो कम्पनीमा सामान्य रहेको छ भन्ने हो। कम्पनीको ५२ साताको उच्च मूल्य ४१६ रुपैयाँ र न्यून मूल्य २५० रुपैयाँ रहेको छ। आज दोस्रो बजारमा कम्पनीको अन्तिम कारोबार मूल्य २८८ रुपैयाँ रहेको छ।
कम्पनीको १० वर्षको औसत लाभांश दर १०.५ प्रतिशत रहेको छ।
बोलिंगर ब्यान्ड, म्याक्डी र आरएसआईका आधारमा
डेली बेसमा कम्पनीलाई बोलिंगर ब्यान्डमार्फत हेर्दा मूल्यरेखाले मध्य ब्यान्डलाई ब्रेक गरेर माथि गएको छ। अप्पर ब्यान्ड र लोअर ब्यान्डको दूरी पनि विस्तारै खुम्चिँदै गएको छ। (हेर्नुहोस् कालो एरो)
त्यसैगरी म्याक्डीमा पनि गत १८ मेमा बुलिस क्रसओभर बनाएको छ। हिस्टोग्राम सकारात्मक र लामा–लामा हुँदै गएका छन्। आरएसआई पनि ५० को न्युट्रल जोनमा चलेको छ।
समग्रमा तीनवटै इन्डिकेटरमार्फत हेर्दा यो कम्पनीको सेयरमा बुलिस यात्रा तय हुँदै गरेको देखिन्छ।
पिभट् प्वइन्टका आधारमा
पिभट विश्लेषण भनेको सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतार–चढाव निकालिन्छ।
आगामी दिनमा कम्पनीको उतार–चढाव यस प्रकार रहन सक्ने देखिन्छ–
बढेमा प्रतिरोध
पिभट प्वइन्टः २९१
घटेमा सपोर्ट
निष्कर्ष
अरुण भ्याली हाइड्रोपावर आधारभूत रुपमा ठिकै रहेको देखिन्छ। गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा प्रतिसेयर आम्दानी, खुद नाफा तथा रिटर्न अन इक्विटीमा गिरावट आएको छ। योसँगै कम्पनीको सेयरभाउमा पनि गिरावट आएर २५० रुपैयाँसम्म आएको देखिन्छ। तर, कम्पनीले थुप्रै आयोजना निर्माणकै चरणमा रहेकोले हालको सेयरभाउ अन्डर भ्यालु नै रहेको देखिन्छ।
प्राविधिक रुपमा हेर्दा कम्पनीको सेयरभाउले बुलिस यात्रा लिँदै गरेको देखिन्छ। म्याक्डीमा भखरै बुलिस क्रसओभर बन्दै गरेको तथा इचिमोकुमा पनि बुलिस बन्दै गरेको देखिन्छ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन।
9 hours ago
10 hours ago
10 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
12 hours ago
12 hours ago
12 hours ago