'नेपाली उत्पादन प्रवद्र्धन, समृद्ध नेपाल हाम्रो अभियान'
अञ्जना इछमफुलले गरिरहेको व्यवसायको नारा नेपालीमा यस्तो छ । Promoting Nepali products for prosperous Nepal लेखिएको छ उनको भिजिटिङ कार्डमा । नेपाली उपादनलाई प्रवद्र्धन गर्ने भनेर आरम्भ गरिएको व्यवसायको नाम छ, कोसेली ढाका एण्ड अर्गानिक सेण्टर । काठमाडौंको कोटेश्वरमा उनको होलसेल र रिटेल पसल छ ।

अञ्जना इछमफुल पेशाले व्यवसायी हुन् । कवितायात्रामा निरन्तर लागिरहेकी उनी व्यवसाय गर्दै व्यस्त जीवन बाँचिरहेकी छिन् ।

तपाईं कवि कि व्यवसायी ? भन्ने प्रश्नको उत्तरमा ‘कत्ति अप्ठेरो प्रश्न’ भन्दै उनी दिल खोलेर हाँस्छिन् । 

‘मेरो भिजन के हो ? कति लामो यात्रा हो मेरो ? भन्ने कुरा बुझेर नै व्यवसाय सुरु गर्नुपर्छ । अरुले गरेको देख्दैमा व्यवसाय गर्नु हुन्न ।’ यस्तो सोच राख्ने अञ्जनालाई अर्गानिक कुराप्रति प्रेम छ । हरेक कुरा अर्गानिक हुनुपर्छ, नेपाली सबैजना आत्मनिर्भर हुनुपर्छ भन्ने उनको विचार छ ।

अञ्जना इछमफुल व्यवसायी भएर चिनिन चाहन्छिन् । उनी भन्छिन्–‘साथीहरुले कवि बनादिइहाल्छन् ।’ 

सामान्य रुपमा अभिव्यक्त गर्न नसकिने विषयलाई कवितामा व्यक्त गर्ने उनको प्यासन कविता भएको छ ।

‘कवि हुनुअघि नै म व्यवसायी थिएँ ।’ आफ्नो पेशाको कहानी सुरु गर्छिन् । ‘चावहिलमा ९ वर्ष क्यूरियो पसल चलाएको थिएँ ।’

ंरु. ६ हजार ५ सय बाट २५ हजारसम्म मासिक कोठाभाडा तिरेको व्यवसाय थियो उनको । ६ वर्ष एकदम राम्रो भयो । ३ वर्ष पूरै नोक्सान भयो, कारणवश । व्यवसाय सफल हँुदाहुँदै पनि त्यस्तो हुुनपुगेको थियो । नोक्सानीकै कारण हात धुनुपर्यो त्यस व्यवसायबाट ।

शून्य लेभलबाट काठमाडौंमा संघर्ष गरेको अनुभव भएकी अञ्जनाको सुकेधारामा फास्ट फुड रेष्टुरेण्ट पनि थियो पार्टनरशीपमा । राम्रै चलेको थियो । आफ्नो आर्थिक रेस्क्यूका लागि छाडिन् त्यो पनि ।

क्यूरियो पसलमा तीजको बेलामा त दिनकै यत्ति धेरै व्यापार हुन्थ्यो कि, खाजा खान नपाउने अवस्था हुन्थ्यो दिनभर । ९ जना कर्मचारी खट्दा पनि भ्याइन्नथ्यो उतिबेला ।

अपरिपक्वताले गर्दा व्यवसायमा पनि असर परेको हो कि भन्ने उनलाई लाग्दछ ।

सन् २००४ बाट काठमाडौ नियमित बसेको अञ्जनाको अप्स एण्ड डाउनको कथा लामो छ ।

उनी आफ्नो कहानी सुनाउँछिन् । ‘दुस्साहसी मान्छे थिएँ म । गाउँका मानिस बटुलेर प्रौढ शिक्षाको कक्षा चलाउने, जिल्ला सदरमुकामतिर गएर विभिन्न सामाजिक कामको पहलकदमी गर्ने स्वभावको थिएँ म ।’ उनी भन्छिन्, ‘चिटा बालेर अगुल्टो हल्लाउँदै राति राति हिँड्नुपथ्र्यो पढाउन जानलाई । अरु डराए पनि म चाहिँ अघि सर्थें ।’

उनले राती हिँड्दा सुरक्षाका लागि बोकेका ढुङ्गाहरु घरमा थुपार्दा एक थुप्रो भएको थियो ।

अञ्जनाले त्यतिबेला कक्षा ६ सम्म मात्र पढेको । ५ जना साथीहरुसँग मिलेर कोदालोले आफैंले खनेर कटेरो बनाएर स्कुल सुरु गरेको क्रान्तिकारी कथा रोचक छ ।

भन्छिन्, ‘१३–१४ वर्षे कलिलो उमेरमै थिएँ । सानी केटी त थिएँ म ।’ आफ्नो विगत सम्झिँदा उज्यालिँदै भन्छिन्, ‘तर पनि प्रअ म आफैं भएको रहेछु नि अहिले सम्झिँदा ।’

कक्षा १ दखि ३ सम्मको स्कुलमा कवि अर्जुन खालिङ, जो नजिकैको अर्को निजी स्कुलका शिक्षक थिए । उनी र अञ्जना मिलेर हातैले लेखेर अध्ययन सामाग्री तयार पारेको उनको सम्झनामा अझै ताजा छ ।

गाउँमा स्कुल भए पनि हिँडेर टाढा पुग्नुपर्ने बाध्यता भएका कारण स्कुल खोल्ने सोचले काम गरेको थियो, त्यतिबेलाको समयमा । आवश्यकता के थियो भने, उनको वडामा स्कुल थिएन, उनले पनि वडा नं. २ मा गएर पढेकी थिइन् ।

उतिबेलाको आञ्जनालाई उनी यसो भन्छिन्, ‘हाम्रो जग्गाजमिन टन्नै थियो, खेतीपातीका लागि । तर म चाहिँ आफ्ना लागि आफैं विकल्प खोज्ने टाइपको अराजक रहेछु त्यतिबेला ।’

स्कुल बनाएको ठाउँमा बजार लाग्थ्यो । झगडा, हुल्दंगा र असामाजिक गतिविधि हुने उक्त ठाउँलाई पवित्र बनाउने मनसायले स्कुल स्थापना गरिएको थियो ।

जग्गाधनीलाई फकाएर उक्त जग्गा पनि निःशुल्क प्राप्त गरेका थिए । 

उनको गाउँमा पढ्ने र स्कुल जाने क्रम एकदम कम थियो । धनीका छोराछोरीहरु पनि स्कुल जाँदैनथे । अनि स्कुल खुलेपछि स्कुल जाने पढ्ने सुरुवात भयो । अहिले कक्षा ५ सम्म पढाइ हुन्छ उक्त स्कुलमा ।

त्यसरी पढाउँदापढाउँदै उनलाई जापान जाने अवसर आयो । धान खेतीको अध्ययन गर्न आउने जापानीहरुसँग दाजु कृष्णकुमार गएका थिए जापान । बहिनीलाई पनी उक्त अवसर आयो । अब पासपोर्ट बनाउनु पर्ने भयो । तर उनीसँग साथमा पैसा थिएन ।

स्कुलमा काम गरेबापत नगद प्राप्त हुन्थेन । तलबवापत मकै, कोदो आदि पाइने । त्यसैलाई विक्री गरेर आएको थोरै पैसा लिएर उनी जिल्ला सदरमुकाम सल्लेरी गइन् ।

त्यतिबेला आमाको नामबाट नागरिकता नपाउने । बाको नागरिकताको फोटोकपी काठमाडौंबाट कान्छो दाजु धनकुमारले पठाउनुपर्ने थियो । तर दाजुसँग कुराकानी हुनै सकेन । दाजुको अफिसबाट खबर आयो, ‘उहाँ अफिस नआउनुभाको एक हप्ता जति भइसक्यो ।’

त्यतिबेला अहिलेजस्तो मोबाइल फोनको सुविधा पनि थिएन । उनलाई आफ्नो काम नभएकोभन्दा पनि बढी दाजुको चिन्ता लाग्यो । अनि धेरै दिनपछि दाजु आउनुभयो र काम बन्यो । त्यसपछि नागरिकता बनाए । १३–१४ दिनजति बसेको र खाएको पैसा तिर्न नसकेर भनसुन गरी उधारो राखेर घर फर्किन् ।

पछि काठमाडौं आउनेबेलामा त्यो पुरानो हिसाब चुक्ता गर्नै भनेर सल्लेरी हुँदै काठमाडौंको यात्रा गरिन् ।

यसरी जापान जानका लागि तयारी गर्न १६ वर्षको उमेरमै उनी काठमाडौं आइपुगिन् ।

स्पोन्सरमा ३ पटकजति जापान गएर आउने अवसर पनि पाएको उनलाई व्यवसाय गर्ने र नेपालमै केही गर्नुपर्छ भन्ने सपनाले झक्झक्याइरह्यो । 

मलेसियामा बस्ने एकजना दाइसँग ७० हजार सापट लिएर उनले काठमाडौंमा व्यवसाय सुरु गरेकी हुन् ।

सुरुमा सानो पसलबाट काम थाल्ने भनेर पसल खोज्दाखोज्दा गरिन् । बल्लबल्ल भेटेको  पसल उनले किनेर व्यवसायिक यात्रा आरम्भ गरिन् । भन्छिन्, ‘मैले एक्लै आँट गरेँ, मैले आफैंले कमाउनुपर्छ भन्ने लागेर ।’

मिथिला आर्टको सेल्सको काम पनि गरेको अनुभव छ उनको । पैसाको अभाव हुँदा त्यसो गरेको बताउँछिन् ।

व्यवसायमा लाग्दा उनले मान्छे चिन्न पाइन् । ‘काठमाडौंमा कुनकुन लेवलका मानिस हुने रहेछन् भन्ने जान्न पाएँ । १० रुपियाँदेखि ८ सय रुपियाँसम्मका चुरा बेच्थेँ त्यो समयमा  । यत्ति महङ्गो चुरा नि हुन्छ भन्नेदखि यस्तो यस्तो छ नि मेरो त भन्ने पनि थिए, ग्राहकहरु । वर्गीय खाडलको प्रत्यक्ष अनुभव त्यतिबेला गर्न पाएँ ।’ उनी सिकाइ धेरै भएको बताउँछिन् ।

त्यो समयमा नेपाली भाषा पनि राम्ररी बोल्न नजान्ने सोलुको राइनीले यस्तो व्यापार पनि गर्छ भनेर टिप्पणी गर्ने पनि थिए । उनीलाई लाग्छ, काठमाडौंले धेरै कुरा सिकायो ।

‘मलाई चाहिँ जागिर खाने ध्यान कहिले नि आएन । म सानैदेखि आत्मनिर्भर हुन रुचाउने स्वभावको थिएँ । अरुसँग खासै कुरा पनि मिल्दैनथ्यो मेरो ।’

आफ्नो सपनाको कथा  सुनाउँदा उनलाई यस्तो लाग्छ, ‘म चाहिँ एकदमै सोझो छुजस्तो लाग्छ । ३० वर्ष नपुगी बुद्धि पनि आएन कि जस्तो लाग्छ । वातावरण, शिक्षा र समुदायको प्रभावले यस्तो भयो जस्तो लाग्छ ।’

८ कक्षा पढेकोले एसएलसी परीक्षामा समावेश हुन पाइन्थ्यो । उनले जम्मा ६ कक्षासम्म पढेको । काठमाडौंमा स्कुल ड्रेस लगाएका केटीहरु देख्दा उनलाई पनि स्कुल जाउँजाउँ लाग्थ्यो, तर कोही साथी नभएकाले आँट गर्न सकिनन् ।

एकदिन एकजना चिनेको शिक्षकलाई आफ्नो रहर सुनाइन् । उनको साथ, सहयोग पाएपछि उनले फेरि पढ्न थालिन् । घरमै शिक्षक बोलाएर पढ्ने व्यवस्था गरिदिए उनका दाइले ।

क्रमशः परीक्षा दिँदै गएँ । पसलको संघर्ष चल्दै थियो । पढाइ पनि जारी थियो । जत्ति कठिन अवस्था भएपनि पढाइलाई चटक्कै छाड्न सकिनन् । उनले त्यतिबेलाको एसएलसी पास गर्नेमात्र होइन, आफ्नो छोरीलाई स्कुल भर्ना गरेकै दिन आफ्नो पनि भर्ना गरिन् कक्षा ११ मा । यसरी उनले स्नातकसम्मको अध्ययन गरिन् । 

मूलपानीमा कृषि फार्म पनि थियो ।

बिहान घरधन्दा सकेर, कृषि फार्मकै तालिम लिएर अनि मुल्पानीमा फार्ममा काम गरेर, बेलुका फर्किँदा छिमेकीहरुका लागि १ देखि ७ केजीसम्म तरकारी होम डेलिभरी गरिदिएर फेरि घरधन्दा भ्याउन आइपुग्थिन् उनी । गाडीभाडा यसरी टथ्र्यो उनको । खट्न एकदम गाह्रो भएपछि डेढ वर्षमा उनले फार्मको काम पार्टनरलाई जिम्मा लगाइन् ।

दाइसँगै मिलेर ट्राभल एजेन्सी पनि सम्हालेको अनुभव छ उनको । 

कोसेली ढाका सुरु गरेको २ वर्षजति भयो । अन्त त्यत्ति नपाइने नेपाली उत्पादनहरुको व्यवसाय थालेकी छिन् । नवीन र आकर्षक पसल छ उनको कोटेश्वरमा ।

यस किसिमको काम अरुले पनि गर्नुभएको छ तर मेरो काम कसैको कपी हैन । उनी भन्छिन्, ‘यो मेरो आफ्नै सपना हो ।’

कवि एवम् गायक सञ्जीव राइको आवाजमा अञ्जनाले लेखेको गीत रेकर्ड गर्दैगर्दा कोसेली ढाका एण्ड अर्गानिक सेन्टर भनेर नाम राख्दिउँ न अञ्जनाको व्यवसायको भन्ने कुरा भयो । व्यवसाय प्रमोसन पनि हुन्छ भनेर यसो गरिएको थियो । यस्तै सिलसिलाले यो नाम रहन पुग्यो ।

जीवनको दुःख यस्तो पनि हुन्छ, भन्छिन्, ‘ट्राभलमा काम गर्दा फेन्सी पसलमा आवद्ध थिएँ । तर पार्टनरले धोका दिएपछि आर्थिक रुपमा ८ लाख जति चोखो रुपमा नोक्सान पनि भयो । त्यो रकमको ऋण आजसम्म तिर्दैछु ।’  उनी अझै निराश भएकी छैनन्, ‘मेरो अर्को एकजना साथी त त्यही केसले मानसिक विरामी नै भइसक्नुभयो । सहकारीमा ऋण तिर्न नसकेको कारण नै उनी डुबेका हुन् नि ।’

कष्टसाध्य जीवन बाँचेको कुरा बाहिरी आवरणले थाहा हुन्न नि । तर, सन्तुष्टि चाहिँ नेपाली उत्पादनको काम गर्नुमा छ । उनलाई त्यस्तो लागेको छ अहिले ।

पछि चाहिँ एक किसिमको अर्गानिक खाद्यान्न पनि सबै होस् भन्ने उनको सपना छ । एउटा अर्गानिक मार्ट खोल्ने भन्ने सपनाले मनमा साथ दिइरहेको छ । जुम्लाको सिस्नोको पाउडर, रामेछाप, सिन्धुपाल्चोकको फ्रेस सिस्नो उनकोमा अहिले पनि पाइन्छ । सोलुखुम्बु र ओखलढुङगाको भुटेको मीठो मकै पनि पाइन्छ ।

उनलाई लाग्छ, चुनौती त लगानी ठूलो हुनु हो व्यवसायमा । कुनै सामान ड्यामेज हुन्छ । कुनै बिक्दै बिक्दैन । लाख लगानी गरे हजारमा नाफा हुने हो । त्यसैले थोरै लाखमा सुरु गर्नेलाई एकदम मुस्किल छ । उनी भन्छिन्, ‘२–३ लाखको त केही नि आउँदैन ढाका, अल्लोको सामान ।’

देशविदेशबाट एकदम राम्रो चासो र प्रतिक्रिया दिइरहेको कुराले उनी उत्साहित छिन् । भन्छिन्, ‘ढाकाको उत्पादन विश्वमै एकदम राम्रो देखिन्छ । ढाकामा फेसन पनि हराएर जाँदैन । स्किन एलर्जी हुनेलाई पनि काम लाग्ने, रेशमबाट बनेको ।’

नेपालभित्र गाउँगाउँमा र विदेशमा चाहिँ कुवेत, साइप्रस, अमेरिका, हङकङ, स्वीट्जरल्याण्ड, बेलायत र बेल्जियममा राम्रो बजार छ अहिले । विस्तार गर्ने प्रयासमा छिन् उनी । उनले सामान रिटेलभन्दा सस्तोमा उपलब्ध गराएँदै आएकी छिन् ।

तान बुन्नेलाई बचाउन पनि भनेर उनले लकडाउन अफर दिइरहेकी छिन् । 

भनेको जस्तो धागो निकासी नहुँदा अर्डर आएजस्तो उत्पादन गर्न नसकिने हुन्छ । सप्लाइ गर्ने काम पनि सजिलो छैन । डेलिभरी चार्ज निःशुल्क छ उनको, जहाँका लागि पनि । थोरै मुनाफा लिएर काम गरेकी छिन् ।

महिलाहरुको जिम्मेवारी धेरै हुन्छ । आमाले छोराछोरीलाई राम्रो समय दिनुपर्छ त्यसैले पनि समय व्यवस्थापन व्यवसायमा सहज त छैन । तर उनी राम्ररी व्यवस्थापन गरिरहेकी छन् ।

उनले महिला भएकै कारण कठिन भयो भन्ने बोध गर्नुपरेको छैन । ७ लाख लगानीबाट सुरु भएको यो व्यवसायले अहिले राम्रो व्यापार भइरहको छ । 
उनी खुसी हुँदै भन्छिन्, ‘मैले गाइड गरेर धेरै महिलाहरु, कालिगढहरु यो पेशामा अघि बढिरहनुभएको छ ।’ सकेसम्म धेरै महिलाले व्यवसायमा अघि बढे हुन्थ्यो जस्तो लाग्छ उनलाई ।

उनको विचारमा कोभिड १९ ले व्यवसाय गर्ने सीपमा धार लगाएको छ । व्यवसायीको आत्मविश्वास विकास गरेको छ । त्यत्ति नोक्सान नै भएको जस्तो लागेको छैन उनलाई । उनी भन्छिन्, ‘मेहेनत गर्नेलाई राम्रो हुने रहेछ जस्तो लाग्यो ।’ हरेक वर्ष २ महिनाज ति आफ्नै जीवन बाँच्ने लकडाउन समय भए हुन्थ्यो । यस्तो लागेको छ उनलाई ।

कोसेली ढाका एण्ड अर्गानिक सेन्टरमा ढाकाको साडी, टोपी, इस्टकोट, ज्वारीकोट, मफलर, पछ्यौरा, जुत्ता, चप्पल कोट, खाडीको दौरा सुरुवाल, अल्लोको कोट, टोपी, व्याग जुत्ता, चप्पल, अर्गानिक खानेकुरामा टिमुर, सिस्नु, किनामा, गुन्द्रुक, ड्राइ एप्पलको सुकुटी, मकैको च्याख्ला, अचार, कोदोको पीठो, फापरको पीठो, जौको सातु, काठका ठेका, तोङ्वा खाने भाडा, बाँसको काइयो, हस्तकलाका सामान, बाजाहरु आदि होलसेल र रिटेल विक्री हुन्छ ।

नारा अनुसारको समृद्धिको कुरा गर्दा उनलाई लाग्छ यसले गाउँका मानिसको जीवनस्तर उकास्न सम्भव छ । समृद्धि कहाँकहाँ हुन्छ ? भन्ने सवालमा उनी भन्छिन्, ‘तेह्रथुम, झापा, ताप्लेजुङमा काम गर्नेहरु, धागो बुन्नेहरु, धागो कलेक्सन गर्नेहरु, रोल्पाको अल्लोको सामाग्री उत्पादन गर्नेहरु, दाङको चिनारी महिला समूह, काठका सामानका लागि सङखुवासभा, सोलुखुम्बु, उदयपुरको बेल्टार लगायतका उत्पादकहरु, मालिङ्गो काटेर विनायो बनाउँने लेकतिरका मानिसहरुल, अरु श्रम गर्न नसक्नेहरु लगायतले मेरो व्यवसाबाट लाभ लिइरहनुभएको छ । गाउँमा बुढापाकाले बनाएको सामान ल्याउँछु ।’ यसरी कृषक, उत्पादक र मानिसहरुको आर्थिक उन्नतिमा सपोर्ट हुने उनको विश्वास छ ।

गाउँबाट सामान ल्याउँदा ढुवानी खर्च बढी लाग्ने । काठमाडौं लगेपछि अत्यधिक मूल्यमा बिक्छ भनेर एकैपल्ट महङ्गो मूल्य राख्ने हुँदा पनि उत्पादन ढुवानी गरेर ल्याउन नसकिने अवस्था छ । यसका लागि निरन्तर गर्ने र सहज सुलभ दरमा काम गर्ने वातावरण बनाउनुपर्ने देखिन्छ ।

यसरी नेपाली उत्पादनलाई स्थान दिएर नेपाल सरकारले यस किसिमको व्यवसाय र उद्योगलाई सहयोग गर्नुपर्ने उनको भनाइ छ । रोजगारी सिर्जना गर्ने, गाउँका स्थानीय नेपाली उत्पादनको मूल्य र बजार विस्तार हुने, नेपालीको आर्थिक उन्नतिमा प्रत्यक्ष टेवा पुग्ने कुरामा अञ्जना ढ्क्क छिन् । नेपाली उत्पादनको बजारको सम्भावना प्रशस्तै देख्ने उनी सरकारले वातावरण बनाइदिए हुन्थ्यो । व्यक्तिले गरेर मात्र चाहेजस्तो अवस्था बन्दैन भन्छिन् ।

व्यापार मेलाहरुमा आयोजकको भाडा महङ्गो हुने, सरकारले कुनै सहयोग नगर्ने पाउँछिन् । नेपाली उत्पादनमा काम गर्नेहरुलाई साथ दिनुपर्नेछ भन्ने उनको माग छ । मेलाहरु आयोजना भइरहेको भए पनि उत्पादक र व्यवसायीलाई सहज छैन ।

उनको विचारमा नाफामुखी व्यवसाय भए पनि अहिलेको समय गुडविल बनाउने समय हो । पछिका लागि व्यवसाय गर्ने हो । आजैका लागि होइन भन्दै इन्जोय गर्दैछिन् ।

यो नो रेष्ट प्रोफेसनमा पनि नियमित लाग्न सक्ने उनी कहिल्यै दिक्क मान्दिनन् । अझ बढी समय दिने वा यही समयमा पनि राम्रो गर्न पाए हुने भन्ने उनलाई लागिरहन्छ ।

३–४ जनालाई दैनिक समय दिइरहेकी छिन् । मलामी, न्वारान, विरामी भेट्न पनि भ्याउँछिन् । समय व्यवस्थापन बारे उनी भन्छिन्, ‘केही रमाइला कार्यक्रम कटौती गरेको छु ।’

अनलाइनमा पनि राम्रै समय दिन्छिन् व्यवसायिक प्रयोजनका लागि । खरिद नगर्नेलाई पनि डिटेलमा बताउँनै पर्छ भन्ने उनको सोंच छ । धेरै नै कठिन भएमा उनी कतिपय अवस्थामा चाहिँ वाइफाइ अफ गरेर बस्छिन् ।

कुनै दिन खाना खानै पाइन्न । उनी खुसीसाथ भन्छिन्, मैले गर्दागर्दै सिकेको हुँ । व्यवसायीहरुको जीवनी अध्यययन गर्छिन् । कविता लेखन गर्ने समय पनि व्यवसायमा बितेको छ । कतिपय कविताहरु हराएका छन् यस्तै व्यस्तताले गर्दा । समय दिएको तालिका पनि बिर्सिने सम्भावना हुन्छ, छोरी आरुषीले सम्झाउने गर्छिन् कहिलेकाहीँ।

उनको कविता सिर्जना बारे भन्छिन्, ‘असहमति प्रकट गर्नुपर्दा सामाजिक सञ्जालमा कसैले नसुन्ने पनि हुनसक्छ, त्यस्तो अवस्थामा कविताबाट अभिव्यक्त हुन्छु म । आनन्द लाग्छ कविता लेख्दा । शान्त भएर एक्लै बसेर गहिराइमा डुबेरै पढ्छु कविता । जन्मजात आएको होला यो कविता लेख्ने बानी ।’

भन्छिन्, ‘यसवर्ष कविताका किताब निकाल्ने योजना छ । मेरो काव्यिक जिम्मेवारी पनि भयो ।’

सकारात्मक कुरामा फोकस गर्ने, मन नपरेका कुरामा ध्यान नदिने, हावा किन बह्यो ? पानी किन तलतिर बग्यो ? भनेर प्रश्न गर्ने मान्यता राख्नुहुन्न । अनि जवान भइन्छ । अञ्जनाको मान्यता हो यो ।

आफ्नो पहिलो कमाइ बारे उनको यस्तो स्मृति छः

दूधकोशीमा झोलुङ्गे पुल थियो । पुलमा काठको टेक्ने थियो । काठ मक्किएर खस्थ्यो । अब पक्की पुल बनाउने योजना आयो । उनी भन्छिन्, ‘म वाह्र वर्ष हुँदाखेरीको कुरा हो । पुलबाट पातहरु खसाल्दा उड्दै उद्दै तलतिर जाँदा कम्ति रमाइलो हुन्थेन । हामी तल बगरमा बसेर हात हल्लाउँदै गीत गाउँथ्यौं, पर्यटकहरु हिँड्दा । अनि गिट्टी कुटेर बस्थ्यौं हामी । टिन भर्दै खन्याउँदै गर्दा रमाइलो लाग्थ्यो ।’

अझ थप्छिन्, ‘९ टिन जति गिट्टी कुटेर साथी र मैले जनही १५० जति कमायौं । हामीले पढाइ छोडेका थियौं नि त । अनि त्यो पैसा कमाएपछि हामीले सल्लाह ग¥यौं, अब यो पैसाले चाहिँ पढौं न ल भनेर । त्यो पैसा कत्तिपल्ट गन्यौं भने नि, त्यत्ति धेरै खुसी लागेको थियो । यो कमाइ मेरो जीवनको पहिलो कमाइ थियो । गन्दैगन्दै हिँडेको सम्झना छ, पैसा के गरियो याद छैन ।’

कोसेली ढाका एण्ड अर्गानिक सेन्टरले नेपाली उत्पादनको प्रबद्र्धनमा गरेको प्रयासमा सबैले साथ, सल्लाह दिए हुन्थ्यो भन्ने उनको अभिलाषा छ ।

अनलाइन डेलिभरीका लागि देशविदेशमा पठाउन उनी तयार छिन् । अनलाइन पेमेण्टका लागि विश्वास चाहिँ सहजै गर्न नसकिने अवस्था रहेछ बजारमा । राम्रो सुविधा र सेवा दिन पाउँ भन्ने उनको मन छ । 

जुनसुकै अवस्थामा पनि निरास नहुने स्वभावले नै आजको अवस्थामा आउन सघाएको लाग्छ उनलाई । जहिले उकालो लाग्नुपर्छ भन्ने नै लाग्छ ।