अर्घाखाँची  । अर्घाखाँचीको सन्धिखर्कमा कुखुराले संसारकै सबैभन्दा सानो अण्डा पारेको छ । सानो अण्डा पारेपछि गिनिज बुकमा लेखाउने प्रयास थालिएको छ । 

सन्धिखर्कका कृषक हरिप्रसाद अधिकारीले गिनिज बुक अफ वल्र्ड रेकर्डमा उल्लेख गरेकोभन्दा सानो अन्डा आफ्नो कुखुराले पारेको दाबी गरेका राससले लेखेको छ । उनले गिनिज बुकमा रेकर्ड राख्ने प्रक्रिया सुरु गरिसकेको पनि बताए । 

गिनिज बुक अफ वल्र्ड रेकर्डमा अहिलेसम्म अन्डाको नाप २.१ सेन्टिमिटर रहेको छ । सन्धिखर्कस्थित शान्ति बगैँचाका हरिले आफ्नो कुखुराले उक्त नापभन्दा सानो अण्डा पारेको जानकारी दिए । 

उनको कुखुराले पारेको अन्डाको नाप १.८५ सेन्टिमिटर रहेको छ । हरिले जिल्ला पशुसेवा कार्यालय अर्घाखाँचीमार्फत गिनिज बुकमा रेकर्डका लागि पहल थालेको बताए । 

लाइभस्टक गुण व्यवस्थापन प्रयोगशाला हरिहरभवनलाई प्रमाणीकरण र गिनिज बुक अफ वल्र्ड रेकर्डमा दर्ताका लागि पहल गर्न पत्र पठाइसकिएको जिल्ला पशुसेवा कार्यालयका प्रमुख डा. रामनारायण मण्डलले बताए । 

विश्वमा अहिलेसम्म कुखुराको सबैभन्दा सानो अन्डा भर्जि्नियाका कृषक जोन स्पेन्सर रुसेलको नाममा छ । ९ अगस्ट सन् २०११ मा मापन गरिएको उक्त अन्डाको नाप ०.८२६८ इन्च अर्थात् २.१ सेन्टिमिटर छ ।