काठमाण्डौ । लकडाउन अवधिभित्र संकलन गर्नुपर्ने जीवन बिमा प्रिमियमबापतको रकम संकलन गर्ने अवधि २०७७ जेठ मसान्तसम्म थप गर्न विमा समितिले निर्देशन दिएको छ । 

अर्थमन्त्रालयको निर्देशनपछि एक सर्कुलर जारी गर्दै बिमा समितिले जीवन बिमा प्रिमियमबापतको रकम संकलनको म्याद थपेको हो । 

सो अवधिको ब्याज समेत नलाग्ने व्यवस्था गर्न समेत समितिले जीवन बिमा कम्पनीहरुलाई निर्देशन दिएको छ । 

यस्तै, बिमा अवधि समाप्त भएको बिमालेखको हकमा सम्बन्धित बिमितको लिखित अनुरोध(विद्युती माध्यमबाट प्राप्त समेत)का आधारमा बिमालेख नवीकरण गर्ने व्यवस्थालाई लकडाउन अवधि सकिएको १५ दिनसम्म कायम गर्ने व्यवस्था मिलाउन समेत भनिएको छ । 

यसैगरी, २०७६ चैत र २०७७ बैशाख महिनामा नवीकरण गर्नुपर्ने बिमा अभिकर्ता र सर्भेयरको इजाजतपत्र नवीकरणको म्याद असार मसान्तसम्म थप गरी सो बापत जरीवाना नलाग्ने व्यवस्था मिलाउन समेत भनिएको छ । 

निर्जीवन बिमकले तत्काल सिर्जना हुने दाबी भुक्तानीका लागि विद्युतीय माध्यमबाट समेत निवेदन प्राप्त भएमा अवस्था सामान्य भएपछि तत्काल सर्भेयर खटाई क्षति यकिन गरी दाबी भुक्तानी गर्ने व्यवस्थालाई निरन्तरता दिन समेत भनिएको छ ।