काठमाण्डौ। कोरोनाले थलिएको अर्थतन्त्र उकास्ने विषयमा छलफल गर्न चीनको मन्त्रिपरिषदले १ लाख बढी चिनियाँ अधिकारीहरुसँग आपतकालीन बैठक बसेको छ। 

चिनियाँ सरकारी मिडियाका अनुसार कोरोनाविरुद्ध चालिएका कडा कदमहरुका कारण थलिएको अर्थतन्त्रलाई स्थिर गर्न नयाँ उपायहरु पहिल्याउन बैठक आयोजना गरिएको हो। सरकारी स्वामित्वको ग्लोबल टाइम्सको रिपार्टका अनुसार राज्य परिषदुद्वारा अप्रत्यासित रुपमा गरिएको भिडियो टेलिकन्फ्रेन्समा प्रान्तीय, सहर र काउन्सिलस्तरका अधिकारीहरुले भाग लिएका थिए। उच्च पदस्थ चिनियाँ अधिकारीहरु सम्मिलित उक्त बैठकमा प्रधानमन्त्री लि केकियाङ पनि सहभागी थिए। 

बैठकमा केकियाङले अधिकारीहरुलाई रोजगारी कायम राख्न र बेरोजगारी घटाउनका लागि कदम चाल्न निर्देशन दिएका थिए।   

गत मार्च महिनादेखि कोरोनाको नयाँ लहर देखिएपछि विश्वको दोस्रो ठूलो अर्थतन्त्रका रुपमा रहेको चीनको विभिन्न क्षेत्रहरु प्रभावित बनेको छ। यसका कारण चीनका विभिन्न सहरहरुमा लकडाउन जारी गरिएको छ। 

लकडाउनका कारण सबैभन्दा प्रभावित बनेको चिनियाँ सहर हो, साङघाई। जहाँ अधिकांश मानिसहरु डेढ महिनादेखि आफ्नो घरबाहिर निस्कन सकेका छैनन। 

बेरोजगारी दर, न्यून औद्योगिक उत्पादन तथा कार्गो ढुवानीलाई औँल्याउँदै प्रधानमन्त्री लिले मार्च र अप्रिलमा देखिएको प्रभाव कोरोनाको प्रारम्भिक प्रकोपभन्दा बढी भएको बताएका छन्। 

गत सोमबार चिनियाँ अधिकारीहरुले ट्याक्स रिफन्ड बढाउने, साना व्यवसायीलाई ऋण विस्तार गर्ने र अति प्रभावित उड्ययन उद्योगलाई आपतकालिन ऋण उपलब्ध गराउनेलगायतका ३३ नयाँ आर्थिक उपाहयहरु अनावरण गरेसँगै बुधबार १ लाख अधिकारी सम्मिलित आपतकालिन बैठक बसेको हो। 

उक्त ३३ वटा नीतिहरुमा ट्रकहरुलाई न्यून जोखिम भएका स्थानहरुबाट ढुवानी गर्न लगाएको प्रतिबन्ध हटाइएको छ। 

प्रधानमन्त्री लीले उक्त ३३ वटा उपाय मे महिनाको अन्त्यसम्म लागू गरिसक्न निर्देशन दिएका छन्। –एजेन्सी