काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्र लयमा फर्किन थालेको संकेत गरेको छ। 

राष्ट्र बैंकको आज ६८ औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गभर्नर अधिकारीले अर्थतन्त्र लयमा फर्किन थालेको संकेत गरेका हुन्। ‘२०७९ साल अर्थतन्त्रका लागि चुनौती रह्यो’, उनले भने, ‘भुक्तानी प्रणाली र कार्यसम्पादन चुस्त बनाउँदा अहिले सहज हुँदै गएको छ।’

आर्थिक वर्ष २०७८–७९मा तरलता अभाव भएर ब्याजदर पनि बढेको गभर्नर अधिकारीको भनाइ थियो। राष्ट्र बैंकले अवलम्बन गरेको नीतिका कारण अहिले ब्याजदरमा दबाब हटेको पनि उनले सुनाए। ‘अहिले ब्याजदरमा दबाब घटेको छ’, उनले भने, ‘बैंकहरुले पनि ब्याजदर घटाएका छन्।’

गभर्नर अधिकारीले १५ महिनापछि असोजबाट शोधान्तर बचत हुन गएको बताए। ‘१० वटा विलासिताका वस्तु आयातमा रोक लगाइएको थियो, अहिले खोलिएको छ’, उनले भने, ‘नगद मार्जिन पनि हटाइएको छ।’

मूल्यवृद्धि पनि घटेको गभर्नर अधिकारीले बताए। ‘वित्त व्यवस्थापनमा चुनौती छ’, उनले भने, ‘एनपीएल २.६ प्रतिशतमा रहेको छ। जोखिम भार सदृढ रहेको छ।’

आर्थिक वृद्धिदर पनि बढ्दो अवस्थामा उल्लेख गर्दै गभर्नर अधिकारीले राजस्व संकलन बढेको बताए। 

मौद्रिक नीतिमा धेरै अपेक्षा रहेको भन्दै गभर्नर अधिकारीले भने, ‘राष्ट्र बैंक सीमाभित्र रहेर चल्नेछ।’