काठमाण्डौ । सर्वोत्तम सिमेन्टले बुक बिल्डिङ विधिबाट आइपीओ जारी गर्नुअघि नै सो कम्पनीको सेयर गलत ढंगले खरीद गरी नैतिक विचलनको आरोप खेपिरहेका धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई अर्थ मन्त्रालयले कडा कारबाही गर्ने संकेत गरेको छ । 

अर्थका अधिकारीहरुले उनको संलग्नता रहेको भनिएको सर्वोत्तम सिमेन्टको सेयरको इन्साइडर ट्रेडिङको विषयमा छानिबन गर्न एक उच्चस्तरीय समिति बनाउने तयारी गर्दै उनीमाथि हदैसम्मको कारबाही हुने संकेत गरेको हो । 

अर्थमन्त्रालयका एक सहसचिवकाअनुसार ढुंगानामाथि निलम्बनसम्मको कारबाही हुनसक्ने संभावना बढेको छ । 

ती अधिकारीका अनुसार अर्थ मन्त्रालयले ढुंगानाको संलग्नता रहेको ठानिएको प्रकरणलाई निकै संवेदनशील भएर हेरिरहेको छ । ‘सर्वोत्तम सिमेन्टको भित्री कारोबारमा उनको प्रत्यक्ष संलग्नता देखिएको छ ।’ ती अधिकारीले भने–‘बजारको नियामक निकायको नेतृत्व गरिरहेको प्रमुख व्यक्तिको यो हदसम्मको संलग्नता अक्षम्य हो । यसमा अर्थका अधिकांश उच्च अधिकारी उनलाई निलम्बन गरेरै अगाडि बढ्नुपर्ने पक्षमा छन् ।’ 

ढुंगानामाथि कारबाही गर्ने तयारीकै कारण अर्थमन्त्रालयले धितोपत्र बोर्डले सार्वजनिक गर्न लागेको वार्षिक नीति तथा कार्यक्रम पनि रोकिदिएको छ । 

बोर्डले यसअघि आफ्नै ढंगले वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गर्ने गर्दथ्यो । त्यसमा अर्थमन्त्रालयको राय लिइए पनि बजार विकास र विस्तारका लागि बोर्डलाई स्वतन्त्र रुपमा कार्यक्रम, नीति बनाउन तथा सार्वजनिक गर्ने स्वतन्त्रता दिइएको थियो । तर, यसपटक भने धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई अर्थमन्त्रालयमै बोलाएर सार्वजनिक हुन लागेको कार्यक्रम पेश गर्न निर्देशन दिइएको थियो । ‘हामीले निर्देशन दिएपछि सार्वजनिक गर्ने तयारी गरिएको नीति तथा कार्यक्रम लिएर ढुंगाना जी आफैं आउनुभएको थियो ।’ ती अधिकारीले भने–‘उनी गम्भीर विचलनमा मुछिएका कारण उहाँले नै बनाएको नीति तथा कार्यक्रम सार्वजनिक गर्न दिने कुरै भएन ।’ 

ती अधिकारीले सर्वोत्तम सिमेन्टसँग जोडिएको प्रकरणको निश्पक्ष छानबिन नगरी अध्यक्ष ढुंगानालाई नीति तथा कार्यक्रम सार्वजनिक गर्न वा कुनै महत्वपूर्ण निर्णय गर्न वा कार्यान्वयन गराउन समेत रोक लगाइने प्रष्ट पारे । 

आरोपित बोर्ड अध्यक्ष ढुंगानाले समेत अर्थमन्त्रालयले ग्रीन सिग्नल नदिएका कारण अघिल्लो हप्ता नै सार्वजनिक गर्ने तयारी गरिएको नीति तथा कार्यक्रम रोकिएको बताए । ‘अर्थमन्त्रालयले नीति तथा कार्यक्रम मागेको थियो, मैले लगेर दिएको थिएँ, त्यहाँबाट स्वीकृति आएको छैन ।’ उनले बिजशालासँग भने–‘अर्थले स्वीकृति दिनेबित्तिकै हामी सार्वजनिक गर्छौ ।’

शिशिर ढुंगानाको सरुवा
यसैबीच, धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना र नेपाल स्टक एक्सचेञ्ज(नेप्से)का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद समेत संलग्न रहेको सर्वोत्तम सिमेन्टको सेयरको भित्री कारोबार प्रकरणमा आरोपितहरुलाई नै सजिलो हुने गरी स्पष्टीकरण सोध्न लगाउने कार्यमा संलग्न देखिएका अर्थमन्त्रालयका सचिव शिशिर ढुंगानाको समेत सरुवा गरिएको छ । 

अर्थमन्त्री जनार्दन शर्माको प्रस्तावमा उनलाई सरुवा गरिएको हो । शिशिर ढुंगाना सरुवा हुने कारणमध्ये एउटा कारण सर्वोत्तम सिमेन्ट प्रकरणमा ढुंगाना र साउदलाई जोगाउन उनले गरेको प्रपञ्च पनि रहेको स्रोतको दाबी छ । 

‘शिशिर ढुंगाना र चन्द्र साउदजी क्यालसमेट हुनुहुँदो रहेछ ।’ अर्थस्थित उच्च स्रोतले भन्यो–‘भीष्म ढुंगानासँग पनि पारिवारिक सम्बन्ध रहेको देखिएपछि र उहाँले सर्वोत्तम सिमेन्ट प्रकरणमा स्पष्टीकरण सोध्दा काइते शैली अपनाएकोले अर्थमन्त्री जीकै पहलमा सरुवा गरिएको हो ।’ 

अर्थ मन्त्रालयले शिशिर ढुंगानाकै निर्देशनमा भीष्म ढुंगाना र चन्द्रसिंह साउदलाई स्पष्टीकरण सोध्न छाडेर धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्जको नाममा स्पष्टीकरण सोध्ने काम गरेको थियो । बोर्ड र नेप्सेका उच्च अधिकारी संलग्न रहेको प्रकरणमा समग्र संस्थालाई मुछेर स्पष्टीकरण सोधिएपछि ती संस्थामा आबद्ध कर्मचारी रुष्ट बनेका छन् । यो कुरा अर्थमन्त्रीसम्म पुगेपछि उनले तत्काल अर्थसचिवलाई सरुवाको पहल गरेका थिए । 

ढुंगानालाई अर्थबाट सरुवा गरेर प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा लगिएको छ । उनको ठाउँमा यसअघि महालेखा नियन्त्रक रहेका मधुकुमार मरासिनीलाई लगिएको छ ।