काठमाण्डौ । चालु आर्थिक वर्ष २०७९/८० को विनियोजित बजेट कार्यान्वयनका लागि मार्गदर्शन जारी गरिएको छ। 

अर्थ मन्त्रालयले चालु आर्थिक वर्षको बजेट कार्यान्वयनको प्रभावकारिताका लागि मार्गदर्शन जारी गरेको हो। यो मार्गदर्शन विनियोजन ऐन, २०७९ को दफा ९ को उपदफा (४) बमोजिम जारी गरिएको मन्त्रालयले जनाएको छ। 

अर्थ मन्त्रालयले अख्तियारी, कार्यक्रम स्वीकृति तथा बजेट बाँडफाँड, कार्यक्रम तथा योजना हस्तान्तरण र कार्यान्वयन, बजेट खर्च, रकमान्तर, कार्यक्रम संशोधन तथा प्रतिवेदन, वित्तीय पारदर्शिता, जवाफदेहिता र अनुगमनसम्बन्धी व्यवस्थालगायतका क्षेत्रमा रहेर ७० बुँदे मार्गदर्शन जारी गरेको छ। 

चालु आर्थिक वर्षका लागि कुल १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँबराबरको बजेट ल्याइएको छ। 

मन्त्रालय वा निकायहरुले एकभन्दा बढी इकाइबाट बजेट खर्च गर्ने गरी एकमुष्ट रकम विनियोजन भएको भए यही असोज मसान्तभित्र रकम बाँडफाँड गर्न मार्गदर्शनमा निर्देशन दिइएको छ। त्यसको जानकारी अर्थ मन्त्रालय र सम्बन्धित कोष तथा लेखा नियन्त्रण कार्यालयलाई दिनुपर्नेछ। 

वार्षिक स्वीकृत कार्यक्रमका लागि विनियोजित बजेट फागुन मसान्तसम्म खर्च नभएमा वा बाँकी अवधिमा खर्च हुन नसक्ने भएमा त्यस्तो रकम २०७९ चैत १५ गतेभित्र अनिवार्य रुपमा समर्पण गर्नुपर्ने मार्गदर्शनमा उल्लेख छ।