काठमाण्डौ । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०७९–८० को बजेट निर्माणमा सघाउ पुग्ने उद्देश्यले सञ्चालन गरेको टोल फ्री नम्बर ११३८ बाट उत्साहजनक ढंगले सुझावहरु संकलन भएका छन्।

देशभरका अधिकांश जिल्लाबाट सुझाव आएका छन्। अर्थ मन्त्रालय अहिले यी सुझावको अध्ययन गरेर आगामी आवको बजेटमा समावेश गर्न खोजिरहेको छ।

अर्थमन्त्री जनार्दन शर्माले सबै क्षेत्रका जनताको सुझाव संकलन गर्ने उद्देश्यले टोल फ्री नम्बर ११३८ सञ्चालनमा ल्याएको र त्यसमा आएको सुझावले आगामी आबको बजेट निर्माणमा महत्त्वपूर्ण योगदान गरिरहेको बताए। अर्थमन्त्री शर्माको नेतृत्वमा अर्थ मन्त्रालय अहिले बजेट निर्माणमा केन्द्रित छ।

देशभरबाट संकलन गरिएको सुझावमा बैंकलाई ब्रोकर लाइसेन्सदेखि टिकटक, फ्री फायर बन्द गर्नुपर्नेसम्मको सुझाव दिइएको छ। 

अर्थ मन्त्रालयको टोल फ्री नम्बरमा चितवनको भरतपुरबाट प्राप्त सुझावमा बैंकलाई ब्रोकर लाइसेन्स दिएर पुँजीबजार सुधार गर्नुपर्ने र आईपीओमा आवेदन दिँदा बैंकले लिने शुल्क हटाउन सुझाव दिइएको छ। 

त्यस्तै सुर्खेतको वीरेन्द्रनगरबाट प्राप्त भएको सुझावमा आईपीओ निष्कासन गर्ने कम्पनीलाई आईपीओ निष्कासन गर्दा सहुलियत दिनुपर्ने भनिएको छ।
दाङको बनकट्टीबाट टिकटक, फ्री फायर बन्द गर्न सुझाव दिइएको छ। 

त्यसतै बर्दियाबाट प्राप्त सुझावमा आर्थिक संकट हटाउन अनलाइन गेमबाट विदेसिने रकम रोक्नुपर्ने वा यस्ता गेमबाट कर संकलन गर्नुपर्ने भनिएको छ।