काठमाण्डौ । सरकारले आर्थिक विधेयक २०८० मार्फत लिएको कर नीतिको विरोध जनाउँदै आन्दोलनमा उत्रिएका सेयर लगानीकर्ताहरु छलफलका लागि आज अर्थ मन्त्रालयमा पुगेका छन्। 

आन्दोलनरत लगानीकर्ताहरुले आज बिहान काठमाण्डौमा रहेका ५० वटै ब्रोकर कार्यालयमा तालाबन्दी गरेका छन्। लगानीकर्ताहरुले सेयर कारोबार हुन नदिन ब्रोकर कार्यालयहरुमा तालाबन्दी गरेपछि सरकार र नियामक निकायको पहलमा लगानीकर्ताहरुलाई वार्ताका लागि अर्थ मन्त्रालयमा डाकिएको हो। ‘अहिले हामी अर्थ मन्त्रालयमा छलफल गरिरहेका छौँ’, स्वतन्त्र पुँजीबजार संघका अध्यक्ष रोहन कार्कीले बिजशालासँग भने। 

छलफल आफूहरुले उठाएको मागका विषयमा सरकार र नियामकको ध्यानाकर्षण गराउने कार्कीले बताए। 

आर्थिक विधेयकको २९ नं. बुँदा खारेजीको माग लगानीकर्ताहरुले गरेका छन्। उक्त बुँदामार्फत सेयर लगानीकर्तालाई आयकरमा तान्न लागिएको उनीहरुको भनाइ छ। यसअघिको ५ प्रतिशत र ७.५ प्रतिशत पुँजीगत लाभकर नै अन्तिम हुनुपर्ने उनीहरुको माग छ। 

\छलफलमा अर्थमन्त्री, अर्थ मन्त्रालयका पदाधिकारी, सेबोन अध्यक्ष र लगानीकर्ताका प्रतिनिधिहरुको उपस्थित रहेको छ।