काठमाण्डौ । बेलायतकी महारानी एलिजाबेथ द्वितीयको बिहीबार स्कटल्यान्डको बालमोरल क्यासलमा निधन भएको छ। उनी ९६ वर्षकी थिइन्। 

एलिजाबेथ द्वितीय सन् १९५२ मा उनको बुवा जर्ज छैटौँको निधनपछि बेलायतकी महारानी बनेकी थिइन्। केवल २५ वर्षको उमेरमा उनले बेलायतको राजगद्दी सम्हालेकी थिइन्। 

एलिजाबेथ विश्वको एकमात्र महिला थिइन्, जसलाई विदेश जानका लागि पासपोर्ट र भिसा आवश्यक पर्दैन थियो। हाल १५ वटा सार्वभौम राष्ट्रहरुकी महारानी एलिजाबेटले अर्बौंको सम्पत्ति छोडेर गएकी छन्। 

कति छ महारानी एलिजाबेथको सम्पत्ति ?

महारानी एलिजाबेथ द्वितीयको कुल सम्पत्तिका बारेमा विभिन्न रिपोर्टहरुमा धेरै दाबी गरिएका छन्। फर्च्युनका अनुसार महारानी एलिजाबेथ द्वितीयले ५० करोड डलर (झन्डै ६३ अर्ब ५० करोड रुपैयाँ) को कुल सम्पत्ति छोडेकी छन्। यो सम्पत्ति प्रिन्स चार्ल्सले राजा भएपछि विरासतमा पाउनेछन्।

कसरी हुन्थ्यो महारानी एलिजाबेथको आम्दानी ?

बेलायतको राजपरिवारले करदाताबाट ठूलो रकम लिने गर्दथ्यो। जसलाई सार्वभौम अनुदान भनिन्छ। यो वार्षिक आधारमा राजपरिवारलाई दिइन्छ। वास्तवमा यो अनुदान राजा जर्ज तृतीयको समयमा सुरु भएको थियो। उनले संसदमा सम्झौता पारित गरेका थिए। यसरी उनले आफ्नो र भावी पुस्ताका लागि कोष सुरक्षित गर्ने मार्गप्रशस्त गरेका थिए। यो सम्झौता मूल रुपमा नागरिक सूची भनेर चिनिने २०१२ मा एक सार्वभौम अनुदानद्वारा प्रतिस्थापित गरिएको थियो।

सन् २०२१ र २०२२ मा सार्वभौम अनुदानको रकम ८६ मिलियन पाउन्डभन्दा बढी तोकिएको थियो। यी रकम आधिकारिक यात्राको लागत, सम्पत्तिको मर्मतसम्भार र महारानीको घर बकिंघम प्यालेसको मर्मतसम्भारका लागि छुट्याइएका हुन्छन्।

बेलायती राजपरिवारको अचल सम्पत्ति

फोर्ब्सका अनुसार २०२१ सम्म बेलायती राजपरिवारसँग लगभग २८ बिलियन डलर अचल सम्पत्ति थियो। जुन बेच्न सकिँदैन।

क्राउन एस्टेटः १९.५ बिलियन डलर
बकिंघम प्यालेसः ४.९ बिलियन डलर
द डची अफ कर्नवालः १.३ बिलियन डलर
डची अफ ल्यान्कास्टरः ७४८ मिलियन डलर
केन्सिङ्टन प्यालेसः ६३० मिलियन डलर
स्कटल्यान्डको क्राउन एस्टेटः ५९२ मिलियन डलर

अब महारानी एलिजाबेथको सम्पत्ति कसले पाउँछ ?

बिजनेस इनसाइडरका अनुसार महारानी एलिजाबेटले आफ्नो लगानी, कलासंग्रह, गहना र घरजग्गा होल्डिङबाट ५०० मिलियन डलरभन्दा बढी व्यक्तिगत सम्पत्ति कमाएकी थिइन्। यसमा स्याड्रिंघम हाउस र बाल्मोरल क्यासल समावेश छ। अब उनको निधनपछि धेरैजसो व्यक्तिगत सम्पत्ति राजकुमार चार्ल्सलाई हस्तान्तरण गरिनेछ।

चार्ल्सले सम्हाले राजगद्दी

अब एलिजाबेथ द्वितीयको निधनपछि उनका जेठा छोरा चार्ल्स बेलायतको राजा बनेका छन्। ७३ वर्षीय चार्ल्स बेलायत, अस्ट्रेलिया, क्यानडा, न्युजिल्यान्डलगायत १५ देशको प्रमुख पनि बनेका छन्। बेलायती राजपरिवारको नियमअनुसार चार्ल्सले एलिजाबेथ द्वितीयपछि बागडोर सम्हाल्नुपर्ने थियो। नियमअनुसार एलिजाबेथको मृत्युपछि चार्ल्सलाई नयाँ राजा घोषणा गरिएको छ। 

लन्डनको सेन्ट जेम्स प्यालेसमा वरिष्ठ सांसद, निजामती कर्मचारी, मेयरबीच चार्ल्सलाई औपचारिक रुपमा राजा बनाइनेछ। –एजेन्सी