काठमाण्डौ । अल्का अस्पताल प्रालि नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा र कोजेन्ट हेल्थको सहकार्यमा सुरु भएको ई–अपोइन्टमेन्ट प्लेट फर्ममा आबद्ध भएको छ। योसँगै अल्का अस्पतालमा उपचार गर्न तथा डाक्टरसँगको परामर्शका लागि इसेवा मोबाईल एप्लिकेशन मार्फत अनलाइन अपोइन्टमेन्ट लिन सकिनेछ। 

ई–अपोइन्टमेन्ट सेवा दिने विषयमा अल्का अस्पतालका  तर्फबाट सीओओ सीए दिपेन्द्र पोखरेल र कोजेन्ट हेल्थका तर्फबाट प्रबन्ध निर्देशक डेनियल डी श्रेष्ठले हस्ताक्षर गरेका छन्। अनलाइन अपोइन्टमेन्ट सेवाले अस्पतालको ओपिडी सेवाहरू चुस्त बनाउने र बिरामीहरूको सन्तुष्टि बढाउने अपेक्षा गरिएको छ।  बिरामीले घरबाटै अपोइन्टमेन्ट लिने र भुक्तानी गर्न सकिने हुँदा अस्पतालमा लाइन लाग्नुपर्ने झन्झटबाट मुक्ति पाउनुका साथै समयको समेत बचत हुनेछ।

अहिलेको कोभिड–१९ को महामारीका बेला यो सेवाले अझ धेरै सहजता ल्याउनेछ। कोजेन्ट हेल्थ र इसेवाले अस्पतालहरुमा अनलाइनबाट अपोइन्टमेन्ट लिन सकिने सेवाको सुरु गरेसँगै यस प्लेटफर्ममा आबद्ध हुने अस्पतालको संख्या बढ्दो छ। 

कोजेन्ट हेल्थ प्रालि स्वास्थ्य सूचना प्रविधि क्षेत्रको नव प्रवर्तन कम्पनी हो। कम्पनीले इलेक्ट्रोनिक मेडिकल रेकर्ड (ईएमआर) मा आधारित अस्पताल तथा स्वास्थ्य संस्थाका व्यवस्थापनलाई पूर्ण रुपमा डिजिटलाइज गर्नका लागि प्रविधि निर्माणको काम गर्दै आएको छ।

कोजेन्ट हेल्थ र ईसेवाद्धारा निर्मित ई–अपोइन्टमेन्ट र क्यूआर पेमेन्ट लगायत कोजेन्ट ईएमआर, कोजेन्ट ईएमआर वेब र स्मार्ट स्वास्थ्य जस्ता प्रविधिहरु नेपाल भरका सयभन्दा बढी अस्पताल र स्वास्थ्य संस्थाहरुमा प्रयोग भइरहेका छन्।