ललितपुर । ललितपुरको जावलाखेलमा रहेको अल्का अस्पताल मंगलबारदेखि १६ वर्षमा प्रवेश गरेको छ। 

२०६२ साल फागुन ३ गतेदेखि अल्का अस्पताल सञ्चालनमा आएको हो। ‘बिरामीहरुको उपचार राख्न हामी ख्याल गर्छौं’ भन्ने स्लोगनसहित कुमार थापाले अल्का अस्पताल सञ्चालनमा ल्याएका थिए। स्वास्थ्य मन्त्रालयले १४ वर्षअघि अल्का अस्पताललाई सञ्चालनका लागि अनुमति दिएको थियो। अल्का अस्पतालमा सय शय्या छ।

‘१६ वर्ष पुग्दा हामी निकै खुसी छौ्रँ’, अस्पतालका सञ्चालक तथा अध्यक्ष कुमार थापाले भने, ‘हामीलाई विश्वास गरेर यहाँसम्म पुर्याइदिनु भएकोमा सबैलाई धन्यवाद दिन चाहन्छौँ।’ 

अध्यक्ष थापाले सेवाग्राहीले अस्पतालप्रति गरेको विश्वासका साथै अस्पतालका चिकित्सक र कर्मचारीहरुको लगावलाई आफूले सधैँ सम्झिरहने बताए। 

सेवाग्राहीलाई सहज र सरल रुपमा उपचार दिन अल्का अस्पतालले अझ सेवा थप र विस्तार गर्न लागेको अस्पतालकी कार्यकारी निर्देशक विद्या थापा श्रेष्ठले बताइन्। 

अस्पतालले केही समयअघि अल्का आईभीएफ सेन्टर र डाइबेटिज सेन्टरको स्तरोन्नति गरेको थियो। अल्का अस्पतालले उपचारमा भित्रिएका नयाँ नयाँ प्रविधिहरु भित्र्याएर बिरामीलाई सेवा दिँदै आइरहेको छ। 

अल्का अस्पतालमा सुविधा सम्पन्न एनआईसीयू कक्ष रहेको छ। यसका साथै टेस्ट ट्युब बेबी सेवा, प्रसूति तथा महिला रोग सेवा, डाइबेटिज, बालरोग, मुटु रोग, तथा यसका सम्पूर्ण परीक्षण पनि अस्पतालमा हुँदै आएको छ। नशा, बाथ रोग, यौन तथा छालारोगसम्बन्धी, ग्यास्ट्रोलोजी, रेडियोलोजी, आखाँ, नाक, कान घाँटी, दाँत रोग, युरोलोजिस्ट, कलेजो रोग, एनेस्थेसिया विशेषज्ञहरुबाट अस्पतालले बिरामीहरुलाई सेवा दिँदै आएको छ। 

१६ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा अस्पतालले यस वर्ष पनि विगतका वर्षहरुझैँ रक्तदानको कार्यक्रम आयोजना गरेको छ।

वार्षिकोत्सवको अवसरमा अस्पतालले आईभीएफमा यही फागुन ३ गतेदेखि १० गतेसम्म शनिबारबाहेक ओपीडी निःशुल्क गरेको छ। 

आईभीएफ टेस्टमा २० प्रतिशत छुट तथा आईभीएफ र आईयूआईमा विशेष सहुलियत दिइने अस्पतालले जनाएको छ।