काठमाण्डौ । मुद्धा मामिला, अनेकन लफडा, षड्यन्त्र र तिकडममा सामना गर्दै नेपाल राष्ट्रबैंकको टोलीले व्यवस्थापन सम्हालेको नेपाल क्रेडिट एण्ड कमर्स बैंकसँग अन्य चार विकास बैंकहरुको मर्जर प्रक्रियाले पूर्णता पाएको छ । लक्षित समयभन्दा केही ढिलो गरी एनसीसीसँग इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक, सुप्रिम डेभलपमेन्ट बैंक, इन्टरनेशनल डेलपमेन्ट बैंक र एपेक्स डेभलपमेन्ट गाभिएका हुन् । 

पछिल्लो समय जितबहादुर र लक्ष्मीबहादुर समूहले डिडिएले तोकेको स्वाप रेसियोमा असहमति जनाउँदै अदालतमा मुद्धा दायर गरेर केही समय अन्यौलको भूमरीमा परेको मर्जर प्रक्रियाले पछिल्लो समय गति लिएको थियो । एनसीसीमा गाभिदा एनसीसीको एकसय कित्ता बराबर ईन्फ्रास्ट्रक्चरको ७६, ईन्टरनेशनलको ७२, सुप्रिमकोे ७५ र एपेक्सकोे ४७ कित्ता सेयर पाउने गरी स्वाप रेसियो तय भएको थियो । ।

नेपाल राष्ट्रबैंकबाट मर्जरको अन्तिम स्वीकृति पाएपछि कम्पनी रजिष्टारको कार्यालयले मुद्धा परेको बिषय भन्दै केही दिन एकीकृत कारोबारका लागि स्वीकृति दिन ढिलाई गरेको थियो । तर अदालतको आदेशमा मर्जरलाई रोक्ने, राष्ट्रबैंकको निर्देशनलाई छेक्ने कुनै आशय नभएको ठहरसहित कम्पनी रजिष्टारको कार्यालयले समेत पाँचसंस्था मिलेर बनेको एनसीसी बैंकलाई एकीकृत कारोबारका लागि अनुमति दिएपछि व्यवस्थापनले आउँदो पुस १७ गते आइतबारदेखि एकीकृत कारोबारको मिति तय गरेको हो । 

एनसीसी बैंक बित्तीय रुपमा समस्याग्रस्त भएपछि राष्ट्रबैंकले व्यवस्थापन सम्हालेको थियो । पछिल्लो समय राष्टबैंकका कार्यकारी निर्देशक लक्ष्मी प्रपन्न निरौला नेतृत्वको टिमले व्यवस्थापन सम्हालेपछि एनसीसीसँग कुमारी बैंक र अन्य चार विकास बैंकहरुबीच मर्जरको सम्झौता भएको थियो । तर कुमारी बैंकले निकै पछि मर्जर प्रक्रियाप्रति असहमति जनाएर बाहिरिएको थियो । 

मंसिर २० गते राष्ट्रबैंकले यी संस्थालाई मर्जरको अन्तिम स्वीकृति दिएको थियो । मंसिरभित्रै एकीकृत कारोबार सुरु गर्ने व्यवस्थापनको तयारी कम्पनी रजिष्टारको कार्यालयबाट भएको ढिलासुुस्ती र अवरोधले रोकिएको थियो । तर सो कार्यालयले समेत पुस १४ गते नै एकीकृत कारोबारका लागि मार्गप्रशस्त गरिदिएपछि आइतबारदेखि एकीकृत कारोबार सुरु हुने बैंकका सीइओ रमेशराज अर्यालले जानकारी दिए । 

बैंकले शुक्रबार एक सार्वजनिक सूचना प्रकाशन गरी पाँच संस्था मर्ज हुँदा सफ्टवेयरबाट वित्तीय कारोवारको व्यवस्था मिलाउनका लागि शुक्रवार र शनिवार दुई दिन पाँच वटै बैंकले प्रदान गर्दै आएका सबै बैंकिङ कारोवार बन्द हुने जनाएको छ । यस अन्तर्गत ३६५ दिने बैंकिङ सेवादेखि एटिएम, एसएमएस र इन्टरनेट बैंकिङ सेवा पनि बन्द हुनेछ।

सीइओ अर्यालका अनुसार मर्जपछि एकीकृत संस्थाको पुँजी चार अर्व ६७ करोड ९० लाख रुपैयाँ हुनेछ। बैंकका शाखा संख्या ९६ पुग्नेछ भने कर्मचारी संख्या एक हजार २८ जना पुग्नेछ। मर्जपछि बैंकको निक्षेप ५२ अर्व रुपैयाँ पुग्नेछ भने कर्जा ४४ अर्व रुपैयाँ पुग्नेछ ।