-मनोजबाबु
काठमाण्डौ । सर्वोच्च अदालतको आदेशको उल्लंघन गर्दै नेपाल स्टक एक्सचेञ्ज(नेप्से)का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदलाई हाजिर गर्न रोक्ने नेप्से अध्यक्ष लक्ष्मण न्यौपाने पछि हटेका छन् । अदालतको आदेशविपरीत साउदलाई रोक्दा अदालतको अवहेलनाको मुद्धा पर्ने डरले उनी पछाडि हटेका हुन् । 

अध्यक्ष न्यौपाने पछाडि हटेसँगै नेप्से प्रमुख साउदले शुक्रबार कार्यालयमा गएर हाजिर गरेका छन् । 

ठीक १० बजे कार्यालय पुगेका उनले शुक्रबार भने हाजिर गर्न पाएका हुन् । उनीसँगै नेप्से पुगेका अर्र्थमन्त्रालयबाट खटाइएका रमेश अर्याल केहीबेर त्यहाँ बसेर हिँडेका छन् । 

साउदले हाजिर गरेसँगै त्यहाँ पुगेको बिजशाला संवाददाता लगायतका संचारकर्मीले अर्याल र साउदलाई हात मिलाएको फोटो खिचाउन आग्रह गर्दा अर्यालले मानेनन् । उनले आफूहरुबीच कुनै तुष नरहेको उल्लेख गर्दै अर्थमन्त्रालयले काजमा खटाएकोले आफू आएको प्रष्टीकरण दिएका थिए । संचारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिएपछि उनी त्यहाँबाट अर्थमन्त्रालयतर्फ हिँडेका थिए । 

यता, विना अवरोध हाजिर हुन पाएपछि खुशी देखिएका नेप्से प्रमुख साउदले अदालतको आदेशको सम्मान गर्ने अध्यक्ष तथा कानूनी राज्यको पक्षमा वकालत गरी आफूलाई सहयोग गर्ने संचारकर्मीलाई धन्यवाद ज्ञापन गरेका थिए ।