काठमाण्डौ । अवैध कारोबार बढ्न थालेपछि सरकारले विदेशी मदिरा र मोबाइल आयातमा लगाएको प्रतिबन्ध फुकुवा गर्ने भएको छ।

आयात व्यवस्थापन गर्न एक समितिले विभिन्न वस्तुको आयातमा गरिएको प्रतिबन्ध परिमार्जन गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई प्रस्ताव गरेको छ। सोहीअनुसार मन्त्रालयले परिमार्जित आयात प्रतिबन्ध प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरेको मन्त्रालय स्रोत बताउँछ। ‘विदेशी मुद्रा सञ्चिति बढाउन सरकारले विभिन्न वस्तुको आयातमा प्रतिबन्ध लगाएको छ’, स्रोत भन्यो, ‘तर, यसले अवैध रुपमा सामान भित्रिएर सरकारको राजस्व असुली प्रभावित बनेको छ।’

स्रोतका अुनसार विशेषगरी मदिरा र मोबाइल आयातमा लागेको प्रतिबन्ध हटाउने तयारी भइरहेको छ। 

मन्त्रालय स्रोतका अनुसार १५० सीसी क्षमताका मोटरसाइकलदेखि महँगा गाडी आयातमा लगाइएको प्रतिबन्ध भने यथावत राखिनेछ। 

सरकारले विभिन्न १० वस्तुको आयातमा ४ महिनादेखि प्रतिबन्ध लगाउँदै आएको छ। यो प्रतिबन्धको समायावधि मंगलबार सकिँदैछ।