काठमाण्डौ । बुधबार बिहान १०ः१५ बजे कमलादीस्थित हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक समशेर जंगबहादुर(एसजेबी) राणालाई भेट्न पुग्दा उनको कार्यकक्षको टिभी स्क्रीनमा फुटबलको विश्वकपका हिजोको खेलहरुका रिक्याप आइरहेको थियो । 

सीइओ राणा आगन्तुकहरुसँग कुरा गर्दै विश्वकप फुटबलका गेमहरुको कमेन्ट्री तथा हाइलाइट्सहरु हेरिरहेका थिए । उनको आँखा घरिघरि विश्वकपकै गेमहरुमा परिरहेको थियो । 

‘दाईलाई विश्वकपमा निकै चासो छ जस्तो लाग्यो ।’ बिजशालाको जिज्ञासा मेट्दै उनले भने –‘हो, निकै नै चासो छ । वल्र्डकपका अधिकांश खेलहरु लाइभ हेरिन्छ । एलिमेनसनदेखि त एउटा पनि गेम नछुटाई हेर्छु ।’ 

अहिले मात्र होइन, राणालाई बाल्यकालदेखि नै फुटबलप्रति चासो रहेछ । त्यसरी चासो जगाउने कारक चाहिँ उनकै पिता तथा नेपालका पहिलो गभर्नर हिमालय समशेर जबरा रहेछन् ।  ‘मेरो फादर एनआरटी टिमको क्याप्टेन होइबक्सन्थ्यो नि !’ फुटबलप्रति मोहको राज खोल्दै राणाले भने–‘बुबा आफैं देशकै बलियो फुटबल टिमको क्याप्टेन भएका कारण उहाँकै प्रभावले पनि फुटबलप्रति विशेष प्रेम रह्यो ।’ 

कुराकानीको क्रममा राणाले उनका पिता तथा नेपाल राष्ट्रबैंकका पहिलो गभर्नर हिमालयन समशेर विद्यार्थीकालमा फुटबलका राम्रो खेलाडी रहेका र टिमको क्याप्टेन नै बनेका रहस्य निकै रोमाञ्चित हुँदै खोलेका थिए । ‘पढिसकेपछि बुबा हजूर अर्थसचिव हुनुभयो । पछि राष्ट्रबैंकको गभर्नर बन्नुभएको हो ।’ उनले भने–‘अहिले पनि बुबाले प्रिमियर लिग र विश्वकपका सबै खेलहरु हेरिबक्सिन्छ ।’ 

राष्ट्रबैंकका पहिलो गभर्नर हिमालय समशेरको रोजाईको टिम चाहिँ प्रत्येक विश्वकपमा फरक–फरक हुन्छ । ‘तर, यसपटक उहाँको रोजाई ब्रजिल नै हो भन्ने कुरामा म निश्चिन्त छु ।’–ब्रजिलका वर्षौदेखिका फ्यान समेत रहेका अशोक राणाले भने  । 

सीइओ राणा आफैं पनि विश्वकप अलावा प्रिमियर लिगका खेलहरु भरसक नछुटाई हेर्छन् । 

यसपटकको वल्र्डकप एशियन मुलुकमै भइरहेका कारण चासो अझ बढेको उनी बताउँछन् । 

मन पर्ने टिम र खेलाडी
उनी आफूलाई पहिलादेखि नै ब्रजिलियन स्टार फुटबलरहरु मन पर्ने बताउँछन् ।  ‘अलिक पछि चाहिँ यूरोपियनहरु पनि मन पर्न थाल्यो । यूरोपियन लिगमा पनि ब्रजिलियनहरुले खेल्न थालेका कारण समेत हुनसक्छ।’ उनले भने–‘पहिला मन पर्ने टिम जर्मनी थियो । तर, अधिकांश समय सपोर्ट चाहिँ ब्रजिललाई गरियो ।’  

तर, पछिल्लो समय उनले जर्मन प्लेयर्सलाई फलो गर्न छाडेका छन् । अहिलेको कुरा गर्ने हो भने उनलाई फ्रान्सको टिम तथा फ्रेञ्च प्लेयरहरु पनि मन पर्न थालेको छ । 

हामीले सोध्यौं–यसपटकको विश्वकप कसले जितोस् भन्ने चाहना छ ? राणाले भने–‘म ब्रजिलको समर्थक भए पनि यसपटकको चाहना चाहिँ विश्वकप इङ्ल्याण्डले जितोस् भन्ने छ । इङ्ल्याण्डले जित्यो भने विश्व फुटबलको विकासमा धेरै कामहरु हुनसक्छन् भन्ने लाग्छ ।’ 

सीइओ राणाले फिफाले नेपालको फुटबलको विकासका लागि प्रत्येक वर्ष अखिल नेपाल फुटबल संघ(एन्फा)लाई सहयोग गर्ने, तर त्यहाँ राजनीति घूसेका कारण नेपालको फुटबलको अपेक्षा गरेजस्तो विकास नभएको बताए । ‘एन्फामा धेरै राजनीति भएर यहाँको फुटबल बिग्रिएको हो ।’ उनले भने–‘एन्फामा व्यवसायिक मान्छे ल्याएर फिफाको समेत अझ बढी सहयोग लिई यहाँको फुटबललाई पनि द्रूत गतिमा विकास गरी विश्वस्तरीय बनाउनुपर्छ, बनाउन सकिन्छ ।’ 

‘बाल्यकालमा फुटबल खेल्थेँ’
सीइओ राणा बाल्यकाल हुँदा फुटबल खेल्ने गरेको सुनाउँछन् । ‘तर, बेलायतमा बोर्डिङ स्कूल पढ्दा फुटबल हुन्थेन ।’ उनले भने–‘प्राइभेट स्कूलहरुमा हकी, टेनिस लगायतको गेम मात्र खेलाइन्थ्यो । फुटबल चाहिँ घरअगाडिका खालि चौरहरुमा खेलिन्थ्यो ।’ 

श्रीलङ्का हुँदा वल्र्डकपका खेलहरु रेकर्ड भएका फिल्महरु आउने र त्यस्ता गेम हेरेर मनोरञ्जन लिने गरेको उनले सुनाए । ‘त्यसबेला त रेडियोमा आउने कमेन्ट्रीहरु समेत छुटाउदैन थियौं ।’उनले सम्झँदै भने–‘अहिले मिडियाको यति ठूलो विकास भयो कि वल्र्डकपदेखि प्रिमियर लिग, इङ्गलिस लिग लगायत सबै खालका खेलहरु प्रत्यक्ष हेर्न पाइन्छ । खुशी लाग्छ ।’