काठमाण्डौ । गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घले र उनकी पत्नी जमूना गुरुङ अष्ट्रेलियाका धनाढ्यहरुको सूचिमा ५ स्थान पछाडि धकेलिएका छन् । 

गत वर्षको भन्दा यो वर्षको सूचिमा घले दम्पत्ति ५ स्थान पछाडि धकेलिएका हुन् । ५ स्थान पछाडि धकेलिए पनि उनीहरुको सम्पत्ति यो वर्ष ५ करोड ८० लाख डलर अर्थात करिब ४ अर्ब ४६ करोड रुपैयाँ थपिएको छ । सन् १९९० मा विद्यार्थीको रुपमा अष्ट्रेलिया छिरेका घले दम्पत्तिले कठोर संघर्ष गरी आजको स्थानमा आइपुगेका हुन् । 

हरेक वर्ष देशका धनाढ्यहरुको सूची प्रकाशन गर्दै आएको अष्ट्रेलियाको बीआरडब्लु म्यागेजिनले सन् २०१६ का लागि शुक्रबार प्रकाशन गरेको सूचिमा घले दम्पत्ति कुल ५८ करोड ६० लाख डलर सम्पत्तिसहित १०५ औं स्थानमा छन् । गत वर्ष उनीहरु यस्तो सूचिको १०० औं स्थानमा थिए । सम्पत्ति चाहि ५२ करोड ८० लाख अष्ट्रेलियन डलर रहेको थियो । 

अष्ट्रेलियामा रहेका नेपालका घले दम्पत्तिले संचालन गरेको एमआइटी ग्रुप होल्डिङले  शिक्षा र रियलस्टेटको क्षेत्रमा ठूलो लगानी रहेको छ । म्यागेजिनले जनाएअनुसार उनीहरुको लगानी रहेको मेलवर्न इन्स्टिच्यूट अफ टेक्नोलोजी(एमआइटी)मा बिभिन्न देशका ३ हजार ५ सय विद्यार्थी अध्ययन गरिरहेका छन् । रियल स्टेट र होटलको लगानीमा समेत अष्टेलियामै अगाडि रहेका घले दम्पत्तिको मेलवर्न, सिड्नी जस्ता महत्वपूर्ण शहरका केही व्यापारिक भवन तथा मलहरुमा समेत करोडौं लगानी रहेको छ । 

५ स्थान पछाडि धकेलिए पनि उनीहरुको सम्पत्ति यो वर्ष ५ करोड ८० लाख डलर अर्थात करिब ४ अर्ब ४६ करोड रुपैयाँ थपिएको छ ।

घलेले पछिल्लो समय नेपालमा पनि आफ्नो लगानी केन्द्रीत गरेका छन् । उनले झण्डै १२ अर्ब रुपैयाँ लगानी गरी काठमाण्डौमा शेराटन होटल निर्माण गरिरहेका छन् । घले दम्पत्तिको यूरोपमा समेत लगानी रहेको छ । 

घले दम्पत्तिले नेपालमा स्वास्थ्य र शिक्षा क्षेत्रमा लगानी गर्ने उद्देश्यले गत वर्ष एक अर्ब रुपैयाँको कोष घोषणा गरेका छन् । यो कोष नेपालको अहिलेसम्मकै ठूलो निजी क्षेत्रको परोपकारी कोष हो ।