- आर.आर. हरिकृष्ण जोशी, बैंकर

‘एकतामा बल हुन्छ’, यो पुरानो भनाइ हो। आजको सयममा पनि यो भनाइ उत्तिक महत्वपूर्ण छ। 

एकतामा बल हुन्छ। यसको अर्थ एक–अर्काविरुद्ध काम गर्नु होइन बरु एक–अर्कासँग मिलेर काम गर्नु हो। 

यस्तै ‘एक थुकी सुकी, सय थुकी नदी’ भन्ने त चलन नै छ। जुनसुकै क्षेत्रमा चाहे परिवारमा होस् वा कम्पनीमा, चाहे खेलकुदमा होस् या राजनीतिमा, त्यस क्षेत्रमा आबद्ध टिम सबैको लक्ष्य एउटै हुनुपर्दछ। जब सबैको लक्ष्य एउटै हुन्छ तबमात्र नतिजा पनि सोचेअनुसार नै आउँछ। आपसमा राम्ररी लक्ष्यको बारेमा छलफल र जानकारी हुन्छ अनि काम गर्नेहरु प्रोत्साहित हुन्छन्। सकारात्मक सोचहरुले स्थान पाउन थाल्छन् र टिममा आबद्ध साथीहरु टिम छोड्दैनन्। बरू अन्य टिममा भएका मानिसहरु आकर्षित हुन्छन् र टिममा आबद्ध सबै साथीहरु पनि अगाडि बढ्छन् अनि टिमको लक्ष्य पनि प्राप्त हुन्छ। 

जब टिममा सबैको लक्ष्य एउटै हुँदैन तब टिम आफैँमा कमजोर हुन्छ। नतिजा पनि सोचेअनुसार आउँदैन। आपसमा राम्ररी आफ्नो लक्ष्यका बारेमा छलफल र जानकारी पनि हुँदैन। काम गर्नेहरु निरुत्साहित हुन्छन्। नकारात्मक सोचहरुले स्थान पाउन थाल्छन् अनि टिममा आबद्ध साथीहरु टिम छोड्नतर्फ लाग्छन्। टिममा आबद्ध सबै साथीहरु पनि पछाडि पर्छन र टिमको लक्ष्य पनि प्राप्त हुँदैन। 

टिमको लक्ष्य प्राप्तिका लागि सबैभन्दा महत्वपूर्ण अर्को पाटो भनेको त्यस टिमको टिम लिडरको पनि हुन्छ। टिम लिडर दूरदर्शी हुनुपर्दछ। उसले सबै टिममा आबद्ध भएका साथीहरुको मनोभाव बुझ्न सक्नुपर्दछ। आफ्नो टिमका साथीहरुलाई प्रोत्साहन गर्नुपर्दछ। जब कहिलेकाहीँ टिममा कोही असफलता भयो भने पनि सान्त्वना दिँदै अगाडि बढ्न हौसला प्रदान गर्नुपर्दछ। आफ्नो टिमका साथीहरुलाई आफ्नो परिवारजस्तै केयर गर्नुपर्दछ र आफ्नो हितभन्दा पहिला टिमको हितको चाहना राख्नुपर्दछ । 

तसर्थ, आजको युग भनेको टिमको युग हो। टिम बिना सफलता मुश्किल छ। आउनुहोस्, टिम फुट्दा हुने असरको एउटा कथाबाट जानकारी लिऔँ– 

एउटा जंगलमा घोडा र भैँसी लामो समयसम्म मिलेर बसेका रहेछन्। बसाइको क्रममा बीचमा कसैले पनि उनीहरुमाथि आक्रमण गर्न आँट गर्दा रहेनछन्। यदि कसैले आक्रमण गर्न खोज्यो भने पनि दुवै मिलेर लखेट्दा रहेछन्। जंगलभरि ती दुई भैँसी र घोडालाई आक्रमण गर्न हुन्न, गर्यो भने ती दुई मिलेर उल्टै हामीलाई आक्रमण गर्छन् भन्ने खबर पनि फैलिएको रहेछ। 

समय बित्दै गयो। उनीहरुबीच आपसमा विस्तारै मनमुटाब सुरु भएछ। मनमुटाबले उग्र रुप लिँदै गयो। यतिसम्म कि अब दुवैमा ‘कि त छैनस् कि म छैन’ भन्नेसम्मको भएछ। ती दुईबीचमा हानाहान पनि सुरु भएछ। हानाहानकै क्रममा भैँसीले घोडालाई घाउ हुने गरी सिङले हानेछ। घोडाले अब म हार्ने भएँ भनेर नकराईकन भुइँमा लडेर बसेछ। 

भैँसी अर्कोतिर फर्केको बेलामा घोडा उठेर भागेछ। भागेर जाँदै गर्दा उसले बाटोमा एउटा मानिसलाई भेटेछ। उसले त्यो मानिससित सबै कुरा भनी सहयोग मागेछ। अनि मानिसले भन्यो, ‘म पनि सक्दिनँ, भैँसी धेरै दरो हुन्छ र उसको सिङ पनि तीखा र डरलाग्दा हुन्छन्।’ 

त्यसपछि घोडाले मानिसलाई भन्यो, ‘तिमी ममाथि एउटा लौरो लिएर बस अनि म दौडिएर जान्छु। अनि तिमीले भैँसीको टाउकोमा र सिङमा हिर्काऊ। अनि त तह लागिहाल्छ नि।’

फेरि मानिसले भन्यो, ‘त्यसो गर्दा मैले के पाउँछु ?’

घोडाले भन्यो, ‘त्यो भैँसी दूधालु छ। त्यसलाई बाँध्न सकियो भने तिमीले दूध खान पाउँछौँ।’

त्यसपछि मानिस घोडामाथि लौरो लिएर बस्न राजी भयो अनि घोडामाथि बसे त्यहाँबाट हिँडेछ। भैँसी नजिक पुग्न लागेपछि मानिसले भैँसीलाई लौरोले टाउको र सिङमा हानेछ। अनि भैँसीलाई बाँध्न पनि सफल भएछ। 

त्यसपछि घोडाले खुसी हुँदै भन्यो– ‘ल ! यसले मसँग निहुँ खोजेको थियो, बल्ल ठिक भयो। अब म जान्छु। तिमी यसको दूध खाएर बस।’

घोडाले यतिमात्र के भनेको थियो मानिसले भन्यो, ‘अँ तँलाई जान दिन्छु नि ! अब म भैँसीको दूध खाँदै तँमाथि चढेर हिँड्ने गर्छु। हेर त मैले तँलाई नि बाँध्नलाई जालमा पारिसकेँ।’

मानिसले यति भनेपछि घोडाले पछुतो मानेछ।

त्यसैले अरुलाई हराएर आफू जित्नका लागि हामी पनि जुन हदसम्म पनि गिर्न खोज्दछौँ। अरुलाई सिध्याउन खोज्दा मलाई पनि असर पर्दछ, म पनि सिद्धिन सक्छु भन्ने सोच्न जरुरी छ। 

तसर्थ ‘आफू भलो त जगतै भलो’ भनी काम गरौँ र खुट्टा तानेर पछाडि पार्नेभन्दा नि हात तानेर पछाडि परेको साथीलाई अगाडि बढाऔँ। अनि ‘टिम वर्क मेक दी ड्रिम वर्क’ भन्ने मान्यतालाई आत्मसाथ गर्दै अगाडि बढौँ ।