काठमाण्डौ । बीमा समितिले असार मसान्तभित्र मर्जरमा जाने बीमा कम्पनीहरुलाई विभिन्न प्रकारका छुटको व्यवस्था गरेको छ। 

समितिले बीमा कम्पनीहरुका नाममा परिपत्र जारी गर्दै असार मसान्तसम्म मर्जरमा जाने बीमा कम्पनीहरुलाई पुँजीगत लाभकर, लाभांश कर र कर्मचारीहरुको अवकाश भुक्तानीमा कर छुटको व्यवस्था गरेको हो। समितिका अनुसार बीमकपश्चात कायम हुने नयाँ बीमकमा रहेका सेयरधनीहरुले आफ्नो सेयर गाभिएको मितिले २ वर्षभित्र बिक्री गरेमा बिक्री भएको सेयरमा पुँजीगत लाभकर लाग्ने छैन। 

त्यस्तै बीमकहरुमा गाभिएको मितिले २ वर्षभित्र गाभिएको अवस्थामा कायम रहेको सेयरधनीलाई वितरण गरेको लाभांशमा कर नलाग्ने व्यवस्था पनि समितिले गरेको छ। 

यसैगरी समितिले गाभिने प्रक्रियामा रहेका बीमकहरुले कर्मचारीहरुलाई सामूहिक रुपमा सेवाबाट अवकाश दिने प्रयोजनका लागि गरिने थप एकमुष्ट भुक्तानीमा एकमुष्ट अवकाश भुक्तानी करकट्टी गर्नुपर्ने दरमा ५० प्रतिशत छुट दिने व्यवस्था गरेको छ। 

यो सुविधा प्राप्त गर्नका लागि गाभ्ने, गाभिने र प्राप्ति गर्न इच्छुक बीमकले २०७९ असार मसान्तभित्र गाभ्ने, गाभिने वा प्राप्तिमा जाने आशयपत्र आन्तरिक राजस्व विभागमा दिएका हुनुपर्नेछ। यस्तो आशयपत्र दिएका कम्पनीहरुले आगामी २०८० असार मसान्तभित्र मर्जरको प्रक्रिया टुंग्याउनुपर्ने समितिले जनाएको छ। 

यस्तै तोकेको न्यूनतम चुक्तापुँजी पूरा गर्न गाभ्ने, गाभिने र प्राप्ति तथा मर्जरमा जाने कम्पनीहरुले आयकर ऐन २०५८ को दफा ४७ अनुसारको छुट तथा सुविधा पाउनका लागि २०७९ असारभित्र सम्बन्धित निकायमा आवेदन दिइसक्नुपर्ने समितिले परिपत्रमा उल्लेख गरेको छ।