काठमाण्डौ । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले अस्वस्थ प्रतिस्पर्धाले बीमा बजार बदनाम भएको बताएका छन्। 

हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्सबीचको मर्जरपछि बनेको हिमालयन एभरेष्ट इन्स्योरेन्सको आज एकीकृत कारोबार शुभारम्भ समारोहलाई सम्बोधन गर्दै अध्यक्ष सिलवालले यस्तो धारणा राखेका हुन्। ‘पुँजी थोरै र अस्वस्थ प्रतिस्पर्धाले बीमा बजार बदनाम भएको छ’, उनले भने, ‘विश्वसनीयता पनि घटेको छ।’

त्यसैले बीमा बजारको आमूल परिवर्तनका लागि पनि मर्जर नीति लिइएको सिलावलले बताए। ‘संस्थागत सुशासनका लागि समितिले अब निरीक्षण गर्छ’, उनले भने।

सिलवालले साइज साह्र सानो भएकोले विस्तार गर्न गाह्रो भएको बताए। ‘साढे २ अर्ब पुँजी पुर्याउनका लागि सबै निर्जीवन कम्पनी मर्जरमा जान बाध्य भएका छन्’, उनले भने।

विश्वसनीयता बढाउन २ वटा कुरामा ध्यान दिन पनि अध्यक्ष सिलवालले निर्देशन दिए। ‘पुँजी भए न लगानी गर्ने हो, पहिले आफूलाई क्षमतावान बनाउनुपर्यो’, उनले भने, ‘दोस्रो कुरा भनेको प्रविधिमैत्री हुनुपर्यो। यी कुरा भएमात्र कम्पनीप्रति विश्वास बढ्छ।’ 

सहरमा मोटर चढेरमात्र बीमा नहुने सिलवालको भनाइ थियो। ‘पैसा तल छ, गाउँगाउँमा छ, त्यहाँ जानुपर्यो’, उनले कम्पनीहरुलाई निर्देशन दिँदै भने। 

दिनमा २ रुपैयाँ तिरेर बीमा हुने व्यवस्था सुरु गर्न पनि सिलवालले आग्रह गरे। ‘हाम्रो सरकारले कुरा बुझेन, सरकारकै बीमा छैन अनि जनताको बीमा छैन भन्न मिल्छ ?’, प्रश्न गर्दै सिलवालले भने, ‘सरकारले विस्तारै कुरा अनुभूति गर्न थालेको छ, मन्त्रालयले राष्ट्रिय बीमा नीति बनाउँदैछ।’ 

बीमा समितिले नियन्त्रणको पाटोमा हात नै नहालेको पनि सिलावलले प्रस्ट पारे। ‘हामीले त सहयोग माग गरिरहेका छौँ’, उनले भने, ‘मर्जरपछि र अघि जस्तोसुकै सहयोग गर्न हामी तयार छौँ।’

सिलवालले कम्पनीहरुले अब पुँजीभन्दा बढी बिजनेसन गर्न नपाउने स्पष्ट पारे। ‘मर्जर नहुने वा नगर्नेले अब बिजनेसन पाउँदैनन्’, उनले भने, ‘अब निरीक्षण गर्छौं, रिस्कभन्दा बढीको बिजनेसन गर्न पाउँदैनन्, रोक्छौँ।’

पुनर्बीमा कम्पनीहरुको पुँजी वृद्धि गरिने सिलवालले बताए। ‘बीमा कम्पनीहरुको पुँजी वृद्धि गरेपछि अब पुनर्बीमा कम्पनीहरुको पुँजी वृद्धि गर्न आवश्यक’, उनले भने।