काठमाण्डौ । कोरोना बीमा दाबीभुक्तानी लिनको संख्या १६ हजारको हाराहारीमा पुगेको छ।

बीमा समितिले सार्वजनिक गरेको गत पुस १० गतेसम्मको तथ्यांकबमोजिम कुल १५ हजार ८७९ जनाले कोरोना बीमाको दाबीभुक्तानी पाएका हुन्। जसअनुसार उनीहरुलाई १ अर्ब ५४ करोड ९३ लाख २५ हजार रुपैयाँ दाबीभुक्तानी गरिएको छ।

बीमा समितिका अनुसार स्वीकृत भएका थप २ हजार ५९३ जना दाबीभुक्तानी पाउने प्रक्रियामा छन्। 

यसैगरी ३ हजार ५५५ जनाको दाबीभुक्तानी फाइल स्वीकृतिका लागि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) पठाइएको छ। ईडीसीडीमा थप ८७२ जनाको फाइल पठाउन तयारी अवस्थामा रहेको पनि बीमा समितिले जनाएको छ।

उता कागजपत्र पूरा नभएका २ हजार ५३ जना फाइल सम्बन्धित बीमा कम्पनीहरुमा फिर्ता पठाइएको पनि समितिले जनाएको छ। मापदण्ड पूरा नगरेका ७९ जनाको दाबीभुक्तानी आवेदन रद्द गरिएको छ। 

दाबीभुक्तानीका लागि आवेदन परेकामध्ये ४ हजार ३१९ जनाको फाइन प्रमाणीकरणका क्रममा रहेको पनि समितिले जनाएको छ।