काठमाण्डौ । स्थानीय तह निर्वाचनअन्तर्गत ७०३ पालिकाको अन्तिम नतिजा सार्वजनिक भइसकेको छ। अब ५० पालिकाको नतिजा आउन बाँकी छ।

निर्वाचन आयोगका अनुसार हालसम्म सार्वजनिक नतिजाबमोजिम नेपाली कांग्रेसले सर्वाधिक ३११ पालिकामा प्रमुख पद जितेको छ। जसअनुसार कांग्रेस प्रदेश १ मा ६४, मधेश प्रदेशमा ४४, बागमती प्रदेशमा ५६, गण्डकीमा ३५, लुम्बिनीमा ४४, कर्णालीमा ३२ र सुदूरपश्चिममा ३६ पालिकामा प्रमुख पद जितेको छ। 

यसैगरी अहिलेसम्म १९० पालिकामा जित निकाल्दै एमाले दोस्रो स्थानमा छद्ध। एमालेले प्रदेश १ मा ४२, मधेश प्रदेशमा २३, बागमतीमा २६, गण्डकीमा ३५, लुम्बिनीमा २५, कर्णालीमा १५ र सुदूरपश्चिममा २४ पालिकामा प्रमुख पद जितेको छ। यसैगरी हालसम्मको नतिजाअनुसार माओवादी केन्द्र तेस्रो स्थानमा छ। माओवादी केन्द्रले प्रदेश १ मा १२, मधेश प्रदेशमा ९, बागमतीमा सर्वाधिक २६, गण्डकीमा ११, लुम्बिनीमा २५, कर्णालीमा २३ र सुदूरपश्चिममा १४ गरी १२० पालिकामा प्रमुख पद जितेको छ।

जनता समाजवादी पार्टी (जसपा)ले हालसम्म २७ पालिकामा प्रमुख पद जित्दै चौथो स्थानमा छ। उसले प्रदेश १ मा २, मधेश प्रदेशमा २२ र लुम्बिनीमा ३ पालिका जितेको छ। 

एकीकृत समाजवादीले प्रदेश १ मा २ मधेश प्रदेशमा ११, बागमतीमा ५, कर्णालीमा ४ र सुदूरपश्चिममा २ पालिकाको प्रमुख पद विजयी भएको छ। लोकतान्त्रिक समाजवादी पार्टीले मधेश प्रदेशमा ११ र लुम्बिनीमा १ पालिका जितेको छ। 

हालसम्म देशभर स्वतन्त्रसहित अन्य दलले भने २८ पालिकामा प्रमुख पद जितेका छन्।