काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र नेपाल पर्यटन बोर्डबीच बीमा गराउने सम्बन्धमा सम्झौता भएको छ।

उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र नेपाल पर्यटन बोर्डका प्रमुख कर्याकारी अधिकृत धनन्जय रेग्मीले हस्ताक्षर गरेका छन्। यस सम्झौतापश्चात नेपाल पर्यटन बोर्डका सम्पूर्ण कर्मचारीको स्वास्थ्य तथा सामूहिक दुर्घटना बीमालगायत सम्पत्ति तथा सवारीसाधनहरुसहित आवश्यक सम्पूर्ण निर्जीवन बीमा आइएमई जनरल इन्स्योरेन्सले प्रदान गर्नेछ। 

उक्त अवसरमा पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत रेग्मीले पर्यटन बोर्डले नेपालमा ख्यातिप्राप्त बीमा कम्पनी आइएमई जनरल इन्स्योरेन्ससँग आफ्नो कार्यालयसँग सम्बन्धित सम्पूर्ण निर्जीवन बीमा गर्ने गरी सम्झौता गर्न पाएकोमा आफूलाई खुसी लागेको जानकारी गराए। 

आइएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले नेपाल सरकार र प्राइभेट सेक्टरको पर्यटन क्षेत्रको विकास प्रवर्द्धनका लागि कार्य गर्ने नेपालको एकमात्र संस्था नेपाल पर्यटन बोर्डसँग सहकार्य गरेर सम्पूर्ण निर्जीवन बीमा सेवा प्रदान गर्न पाउँदा खुसी लागेको र यसका लागि प्रमुख कार्यकारी अधिकृतलगायत पर्यटन बोर्डका सम्पूर्ण टिमलाई धन्यवाद व्यक्त गरे। 

श्रेष्ठले बोर्डसँग सम्बन्धित सम्पूर्ण कर्मचारी तथा सम्बन्धित संस्थाहरुलाई आवश्यक सम्पूर्ण निर्जीवन सेवा सर्व सुलभ तरिकाले प्रदान गर्ने प्रतिबद्धता व्यक्त पनि गरे। श्रेष्ठले निर्जीवन बीमा क्षेत्रमा छुट्टै पहिचान स्थापित गर्ने उद्देश्यले कम्पनीले सातवटै प्रदेशबाट सर्वसुलभ तरिकाले ग्राहकलाई बीमा सेवा प्रदान गरिरहेको र कम्पनीले नयाँ नयाँ बीमा सेवा सुरु गरी सरल बीमा र सहज दाबी भुक्तानीमा विशेष ध्यान दिइरहेको जानकारी गराए।