काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको लाभांश सुरक्षित गर्ने आज चैत २४ गते अन्तिम दिन रहेको छ।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि आइएमई जनरल इन्स्योरेन्सले भोलि चैत २५ गतेदेखि आउँदो वैशाख ९ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज चैत २४ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्। 

कम्पनीले आफ्नो २४ औँ वार्षिक साधारणसभा आउँदो वैशाख ९ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा काठमाण्डौको लैनचौरस्थित लैनचौर बैंक्वेटमा बिहान १० बजेबाट सुरु हुनेछ। 

सभाले सेयरधनीहरुलाई वितरण गर्न भनी प्रस्ताव गरिएको आर्थिक वर्ष २०७७/७८ का वितरणयोग्य मुनाफाबाट हाल कायम रहेको चुक्तापुँजीको ७ प्रतिशत बोनस सेयर र ०.३७ प्रतिशत नगद लाभांश गरी कुल ७.३७ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। कम्पनीद्वारा प्रस्तावित लाभांशमा चुक्तापुँजी १ अर्ब १५ करोड ७५ लाख ८६ हजार रुपैयाँको ७ प्रतिशतले हुन आउने ८ करोड १० लाख ३१ हजार २० रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.३७ प्रतिशतले हुन आउने ४२ लाख ६४ हजार ७९०.५३ रुपैयाँबराबरको नगद लाभांश रहेका छन्।

सभाले कम्पनीको अधिकृत पुँजी वृद्धि गरी २ अर्ब २० करोड रुपैयाँ पुर्याउने विशेष प्रस्ताव पनि पारित गर्नेछ।

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनलगायतका महत्वपूर्ण दस्तावेजहरु पनि अनुमोदन गर्नेछ।