काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीबीच मर्जरसम्बनधी अन्तिम सम्झौता भएको छ। 

एक कार्यक्रमबीच सम्झौतापत्रमा आइएमई जनरलका अध्यक्ष  हेमराज ढकाल र प्रुडेन्सियल इन्स्योरेन्सका अध्यक्ष विशाल अग्रवालले हस्ताक्षर गरेका हुन्। नेपाल बीमा प्राधिकरणबाट जारी भएका निर्देशन तथा नीति–नियमको पालना गर्दै बीमा क्षेत्रमा बढ्दै गएको तीव्र प्रतिस्पर्धा तथा अवसरलाई ध्यानमा राखी एक सबल र सक्षम बीमा कम्पनीका रुपमा स्थापित भई दीर्घकालसम्म अझ उन्नत स्तरको निर्जीवन बीमा सेवा प्रदान गर्ने उद्देश्यले आपसमा मर्ज सहमतिसहित अन्तिम सम्झौता सम्पन्न भएको कम्पनीले जनाएको छ।

अन्तिम सम्झौताअनुसार दुवै कम्पनी आपसमा गाभिएपश्चात बन्ने कम्पनीको नाम ‘आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड’ रहने सहमति भएको छ। मर्जरसम्बन्धी प्रस्ताव दुवै कम्पनीको आगामी विशेष साधारणसभामा लगिने र दुवै कम्पनीबीचमा भएका प्रारम्भिक सहमति एवं डीडीए प्रतिवेदनका आधारमा  आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्सका सेयर अनुपात स्वाप रेसियो क्रमशः १ः१ कायम रहने सहमति भएको छ। 

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले दुवै उत्कृष्ट व्यावसायिक घरानाका व्यक्तिहरुको संलग्नता रहेको हुँदा मर्जरपछि यो कम्पनी उत्कृष्ट बीमा कम्पनी हुने विश्वास व्यक्त गरे। 

कार्यक्रममा आइएमई जनरल इन्स्योरेन्सका अध्यक्ष हेमराज ढकाल तथा प्रुडेन्सियल इन्स्योरेन्सका अध्यक्ष विशाल अग्रवालले दुवै कम्पनी मर्जरपश्चात पुँजीको हिसाबमा ठूलो बीमा कम्पनी बन्ने र व्यवसायका रुपमा पनि उत्कृष्ठ बीमा कम्पनी बन्ने दाबी गरे। देशको सातै प्रदेशमा रहेको ८२ वटा शाखामार्फत सेवा प्रदान गर्ने गरी सहकर्मी साथीहरुबाट उत्कृष्ट सेवा प्रदान गरी एक नमुना बीमा कम्पनीका रुपमा यो कम्पनी रहने उनीहरुको भनाइ थियो।