काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो २३ औँ वार्षिक साधारणसभा डाकेको छ।

कम्पनी सञ्चालक समितिको हिजो शुक्रबार बसेको बैठकले वार्षिक साधारणसभा आउँदो वैशाख १२ गते आइतबार आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको नक्सालस्थित कम्पनीको केन्द्रीय कार्यालय बिहान १० बजेबाट सुरु हुनेछ।

सभाले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको चुक्तापुँजीको ७ प्रतिशतले हुन आउने ७ करोड ५७ लाख २८ हजार ५२० रुपैयाँबराबरको बोनस सेयर अनुमोदन गर्नेछ। उक्त बोनस सेयरमा लाग्ने कर प्रयोजनार्थ ३९ लाख ८६ हजार ८४२.११ रुपैयाँबराबरको नगद लाभांश पनि सभाले पारित गर्नेछ।

हाल कम्पनीको चुक्तापुँजी १ अर्ब ८ करोड १८ लाख ३६ हजार रुपैयाँ रहेको छ। 

बोनस सेयर जारीपछि कायम हुने चुक्तापुँजीको ४० प्रतिशत अर्थात १०ः४ अनुपातमा हकप्रद जारी गर्ने विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ। 
हाल कम्पनीमा संस्थापक र सर्वसाधारण सेयर स्वामित्व ६०ः४० रहेको छ। हाल कायम सेयर स्वामित्वलाई संशोधन गर्दै संस्थापक र सर्वसाधारणको ५१ः४९ अनुपात कायम गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ। 

लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले आउँदै वैशाख २ गतेदेखि वैशाख १२ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ वैशाख १ गते नयाँ वर्षको बिदा परेकोले चैत ३१ गतेसम्म कायम सेयरधनीहरुमात्रै लाभांश पाउन र सभा भाग लिन योग्य हुनेछन्।