काठमाण्डौ । आइएमई ग्रुपद्वारा प्रवर्द्धित आइएमई डिजिटल सोलुसन लिमिटेडअन्तर्गत सञ्चालित नेपालको पहिलो भुक्तानी सेवाप्रदायक कम्पनी  आइएमई पेको एप डाउनलोड संख्या ४० लाख पुगेको छ।

एप डाउनलोड संख्या ४० लाख पुगेको अवसर पारेर चन्द्रागिरिस्थित २५५१ मिटरको उचाइमा केक काटेर खुसियाली साटासाट गरिएको थियो। आइएमई ग्रुपमा कार्यरत अधिकांश कर्मचारीको उपस्थितिमा आयोजित पिकनिक कार्यक्रमसँगै सो उत्सव पनि मनाइएको थियो।

ग्रुपका सिनियर भाइस प्रेसिडेन्ट सुमन पोखरेल र आइएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले उक्त अवसरमा सहकर्मी साथीहरुका बीच खुसी आदानप्रदान गरेका थिए। 

कार्यक्रमलाई सम्बोधन गर्दै सिनियर भाइस प्रेसिडेन्ट सुमन पोखरेलले डिजिटल पेमेन्टका क्षेत्रमा रहेका अवसरहरुका विषयमा चर्चा गरेका थिए। 

नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित आइएमई पे मोबाइल वालेट एप एक विद्युतीय भुक्तानी सेवा प्रदायक हो। ‘आइएमई पे’ आइएमई ग्रुपको डिजिटल वित्तीय सेवा प्रदायकअन्तर्गतको एक उत्पादन हो। 

नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट विनियमावली, २०७२ बमोजिम आइएमई डिजिटलले दूरसञ्चार सञ्जालका माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो।  

आइएमई पे मोबाईल वालेटमार्फत सेवाग्राही आफैँले अथवा एजेन्टहरुका मार्फत विभिन्न किसिमको भुक्तानी कार्यहरु गर्न सक्नेछन्। यसले व्यक्ति–व्यक्तिबीचमा हुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधादेखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरुमा क्यूआर स्क्यान गरी भुक्तान गर्ने, मोबाइल रिचार्ज गर्ने र विभिन्न घरायसी तथा कार्यालयका बिलहरु भुक्तान गर्न मिल्ने सेवा प्रदान गर्दै आइरहेको छ। यस मोबाइल वालेटमा ब्याज तथा विभिन्न क्यासब्याकहरुको पनि सुविधा उपलब्ध छ। 

आइएमई डिजिटल सोलुसनले बैंकको सुविधाबाट वञ्चित नेपाली तथा न्यून बैंकिङ सुविधा प्राप्त सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तीय सेवाहरुको पहुँच उपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरणमा योग्दान पुर्याउने लक्ष्य लिएको छ। २० लाखभन्दा बढी ग्राहकलाई सीधै मोबाइल वालेट एप तथा एजेन्टहरुमार्फत आइएमई पेले विद्युतीय भुक्तानी सेवा प्रदान गर्न सफल छ।