काठमाण्डौ । रेमिट्यान्स सेवा प्रदान गर्दै आइरहेको संयुक्त अरब इमिरेट्स (यूएर्ई) स्थित कम्पनी अल अहलिया एक्सचेन्ज र नेपालको अग्रणी विप्रेषण सेवा प्रदायक आइएमई लिमिटेड र आइएमई लिमिटेडको डिजिटल भुक्तानी सेवा प्रदायक आइएमई पेबीच पीटुपी मनी ट्रान्सफरको लागि समझदारी गरेको छ। 

समझदारीपछि आइएमईमार्फत रेमिट्यान्स गर्ने नेपाली नागरिकले सीधै प्रापकको आइएमई पे वालेटमा रकम प्राप्त गर्न सकिनेछ। यो सम्झौतापछि अल अहलिया एक्सचेन्ज यूएईबाट नेपालको आइएमई पेमा सीधै पैसा पठाउने पहिलो एक्सचेन्ज हुनेछ। 

यो समझदारी डिजिटल ट्रान्सफरमेसनमा दुवै कम्पनीका लागि अर्को महत्वपूर्ण फड्को हो। यसबाट यूएईमा रहेका आफ्ना सेवाग्राहीलाई डिजिटल प्लेटफर्ममा जोडिने अवसर प्रदान गरेको छ। यस अवसरले सेवाग्राहीलाई अल अहलिया एक्सचेन्ज यूएईबाट पठाएको रेमिट्यान्स नेपाल स्थित आइएमई पेमा सोझै प्राप्त गर्न सकिने नयाँ सुविधा प्रदान गरेको छ। 

रोजगारीका वा व्यापार व्यवसायका लागि यूएई भरी छरिएर रहेका लाखौँ नेपाली नागरिकले अल अहलिया एक्सचेन्जबाट पठाएको पैसा आइएमई पे वालेटमा प्राप्त गर्ने गरी आइएमई डिजिटल र आइएमई लिमिटेडसँग सम्झौता गर्न पाउँदा आफूलाई निक्कै खुसी लागेको अल अहलिया एक्सचेन्जका निमित्त महाप्रबन्धक कमल सुब्बाले बताए। आइएमई पेमा दर्ता भएको मोबाइल नम्बर र प्राप्तकर्ताको नामका आधारमा रेमिट्यान्स नेपाल पठाउन सकिने उनले जानकारी दिए।

आइएमई पे ब्राण्डको प्रर्विद्र्घत संस्था आइएमई डिजिटल सोलुसन लिमिटेडका अध्यक्ष हेमराज ढकालले कोरोनाभाइरस महामारीको समयमा सेवाग्राहीहरूले सुरक्षित तवरले आफ्नो वालेटमा नै रकम प्राप्त गर्न सक्नु धेरै महत्वपूर्ण रहेको बताए। यूएई नेपाल भित्रिने रेमिट्यान्सको मुख्य श्रोत भएको उल्लेख गर्दै ढकालले यो सेवाको विस्तारसँगै नेपाल भित्रिने रेमिट्यान्समा यूएईको योगदान बढ्दै जाने विश्वास व्यक्त गरे। 

वार्षिक ८ खर्बभन्दा बढी विप्रेषण भित्र्याउँदै आएको नेपाल रेमिटेन्समा दक्षिण एसियाकै ठूलो बजार मानिन्छ। अल अहलिया एक्सचेन्जका लागि नेपालको रेमिट्यान्स बजार मुख्य प्राथमिकतामा पर्दै आएको सन्दर्भमा यो सम्झौताले सेवाग्राहीलाई थप सहजता थप्ने विश्वास गरिएको छ। 

सेवा शुभारम्भका अवसरमा आइएमई डिजिटलले अल अहलिया एक्सचेन्ज यूएईमार्फत पठाएको रकम प्रापकले सीधै आइएमई पे वालेटमा प्राप्त गर्दा प्रतिकारोबार ६० रुपैयाँसम्म बोनस पाउन सक्ने जनाएको छ। 

रेमिटेन्स सेवाका लागि पर्यायवाची नाम आइएमईलाई विश्वमा छरिएर रहेका नेपालीले एउटा भरपर्दो कम्पनी मान्दै आएका छन्। आइएमई यो बजारको पहिलो र धेरै सञ्जाल भएको नेतृत्वदायी रेमिटेन्स कम्पनी हो। जसले विगत दुई दशकदेखि निरन्तर स्तरीय रेमिटेन्स सेवा प्रदान गर्दै आइरहेको छ। 

कोरोनाभाइरसको महामारीबाट उत्पन्न सुरक्षा सतर्कतालाई ध्यानमा राख्दै आइएमईले रेमिट्यान्स रकम आफ्नै मोबाइल वालेटमा वा विभिन्न माध्यमबाट आफ्नै घरमा प्राप्त गर्न आवश्यक प्रवन्ध मिलाइएको अध्यक्ष ढकालले बताए। ‘जब कोरोना महामारीको स्थिति सामान्य हुन्छ, त्यसपछि उक्त रकम आफूलाई पायक पर्ने आइएमईका एजेन्ट आउटलेटबाट प्राप्त गर्न सकिन्छ’, ढकालले भने।