काठमाण्डौ । रेमिट्यान्स सेवा प्रदान गर्दै आइरहेको कम्पनी युनिमोनी कतार र नेपालको अग्रणी विप्रेषण सेवा प्रदायक आइएमई लिमिटेड र आइएमई लिमिटेडको डिजिटल भुक्तानी सेवा प्रदायक आइएमई पेबीच पीटुपी मनी ट्रान्सफरका लागि समझदारी गरेको छ।

समझदारीपछि यूनिमोनी कतारमार्फत रेमिट्यान्स गर्ने नेपाली नागरिकले सीधै प्रापकको आइएमई पे वालेटमा रकम प्राप्त गर्न सक्ने छन्। यो सम्झौतापछि युनीमोनी कतारबाट नेपालको आइएमई पेमा सीधै पैसा पठाउने पहिलो एक्सचेन्ज हुनेछ। 

यो समझदारी डिजिटल ट्रान्सफरमेसनमा दुवै कम्पनीका लागि अर्को महत्वपूर्ण फड्को हो। यसबाट कतारमा रहेका आफ्ना सेवाग्राहीलाई डिजिटल प्लेटफर्ममा जोडिने अवसर प्रदान गरेको छ। यस अवसरले सेवाग्राहीलाई युनिमोनी कतारबाट पठाएको रेमिट्यान्स नेपालस्थित आइएमई पेमा सोझै प्राप्त गर्न सकिने नयाँ सुविधा प्रदान गरेको छ। 

रोजगारीका वा व्यापार–व्यवसायका लागि कतारभरि छरिएर रहेका लाखौँ नेपाली नागरिकले युनिमोनी कतारबाट पठाएको पैसा आइएमई पे वालेटमा प्राप्त गर्ने गरी आइएमई डिजिटल र आइएमई लिमिटेडसँग सम्झौता गर्न पाउँदा आफूलाई निक्कै खुसी लागेको यूनिमोनी  कतारका महाप्रबन्धक फ्ल्योद जोहनीले बताए। आइएमई पेमा दर्ता भएको मोबाइल नम्बर र प्राप्तकर्ताको नामका आधारमा रेमिट्यान्स नेपाल पठाउन सकिने महाप्रबन्धक जोहनीले बताए।

आइएमई पे ब्रान्डको प्रवद्र्घित संस्था आइएमई डिजिटल सोलुसन लिमिटेडका अध्यक्ष हेमराज ढकालले कोरोनाभाइरस महामारीको समयमा सेवाग्राहीले सुरक्षित तवरले आफ्नो वालेटमा नै रकम प्राप्त गर्न सक्नु धेरै महत्वपूर्ण रहेको बताए। 

कतार नेपाल भित्रिने रेमिट्यान्सको मुख्य श्रोत भएको उल्लेख गर्दै अध्यक्ष ढकालले यो सेवाको विस्तारसँगै नेपाल भित्रिने रेमिट्यान्समा कतारको योगदान बढ्दै जाने विश्वास व्यक्त गरे। 

वार्षिक ८ खर्बभन्दा बढी विप्रेषण भित्र्याउँदै आएको नेपाल रेमिटेन्समा दक्षिण एसियाकै ठूलो बजार मानिन्छ। युनिमोनीका लागि नेपालको रेमिट्यान्स बजार मुख्य प्राथमिकतामा पर्दै आएको सन्दर्भमा यो सम्झौताले सेवाग्राहीलाई थप सहजता थप्ने विश्वास गरिएको छ। 

यूनीमोनी कतार कतारको केन्द्रीय बैंकबाट इजाजत प्राप्त एक नेतृत्वदायी एक्सचेन्ज हाउस हो। यूनीमोनी कतारले विभिन्न देशहरूमा निर्वाध रुपमा रेमिट्यान्स सेवा उपलब्ध गराउँदै आएको छ। यसका शाखा सञ्जालाहरुबाट वर्षको ३६५ दिन नै सेवा उपलब्ध हुँदै आएको छ। 

सेवा सुभारम्भका अवसरमा आइएमई डिजिटलले युनिमोनी  कतारमार्फत पठाएको रकम प्रापकले सीधै आइएमई पे वालेटमा प्राप्त गर्दा प्रतिकरोबार रू. ६० सम्म क्यासब्याकसम्म पाउन सक्नेछन्। 

रेमिटेन्स सेवाका लागि पर्यावाची नाम आइएमईलाई विश्वमा छरिएर रहेका नेपालीले एउटा भरपर्दो कम्पनी मान्दै आएका छन्। आइएमई यो बजारको पहिलो र धेरै सञ्जाल भएको नेतृत्वदायी रेमिटेन्स कम्पनी हो। जसले विगत दुई दशकदेखि निरन्तरस्तरीय रेमिटेन्स सेवा प्रदान गर्दै आइरहेको छ। 

कोरोना महामारीबाट उत्पन्न सुरक्षा सतर्कतालाई ध्यानमा राख्दै आइएमईले रेमिट्यान्स रकम आफ्नै मोबाइल वालेटमा वा विभिन्न माध्यमबाट आफ्नै घरमा प्राप्त गर्न आवश्यक प्रवन्ध मिलाइएको आइएमई डिजिटल सोलुसन लिमिटेडका अध्यक्ष हेम राज ढकालले बताए। ‘जब कोरोना महामारीको स्थिति सामान्य हुन्छ त्यसपछि उक्त रकम आफुलाई पायक पर्ने आइएमईका एजेन्ट आउटलेटबाट प्राप्त गर्न सकिन्छ’, उनले भने।